शुक्रबार १२ पौष २०८१
ब्लग

धौकलसिंह बस्न्यातको ‘किर्तिमन्दिर’ यसरी बन्यो 'नारायणहिटी दरबार'

शुक्रबार मङ्सिर १२, २०७७/ Friday 11-27-20

देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएसंगै २०६५ साल, फागुन १५ गते नारायणहिटी राजदरबारलाई नारायणहिटी दरबार संग्रहालयकोरुपमा आमसर्वसाधारणले अवलोकन गर्न पाउने गरि खुल्ला गरियो। ज्ञानेन्द्र शाहले गद्वी त्याग गर्नुअघि सम्म त्यहाँ लामो समयसम्म शाह राजाहरुले बसोबास गरे। बास्तवमा यो दरवारको इतिहास धेरैलाई थाहा नहुन पनि सक्छ।नारायणहिटी दरबारको ईतिहास के हो? यो सुरुमा कसको हो? र कसरी नारायणहिटी राजदरबार हुँदै आज नारायणहिटी दरबार संग्रहालय बन्यो? यावत् जिज्ञासा मेटाउन आजको अंकमा डा. प्रेमसिंह बस्न्यातद्वारा लिखित नारायणहिटी दरबार संग्रहालयको ईतिहास र यसका श्रृष्टीकर्ताको बारेमा जानकारीमुलक लेख प्रस्तुत गरिएको छ। 

नारायणहिटी दरबार को असली नाम ‘किर्तिमन्दिर’ हो। प्रधानसेनापती काजी शिवरामसिंह बस्न्यातका कान्छा छोरा मन्त्री धौकलसिंह बस्न्यातले सुरुमा बनाएका थिए। उनकी माता सुरप्रभा भगवान नारायणकि भक्त भएकिले किर्तीमन्दिर भित्र नारायणको मन्दिर बनाउन लगाइन। सो मन्दिरकोलागि मुर्ती बनाउने साइत र स्थान ज्योतिषिबाट जुराउदा हालको सिन्धुली जिल्ला अन्तर्गतको खुर्कोट दक्षिणमा बनाउनु शुभ हुनेछ भन्ने ठहरियो। सोही अनुसार मुर्ती बनाइ काठमाडौं ल्याउदै गर्दा हाल काभ्रेको तिमालकोट डाडाँ भन्दा यता मुर्ती ल्याउन नसकी, भरियाले मुर्ती बोक्नै सकेनन्। त्यसपछि सुरप्रभालाई सपनामा त्यो मुर्ती सोही स्थानमा नै मन्दिर बनाइ स्थापना गर्नु भन्ने सन्देश प्राप्त भएकोले सोही अनुसार हाल तिमालकोटको डाडाँमा नै मन्दिर स्थापना गरियो। त्यहाँ अहिले पनि नारायणस्थान छ। त्यो बडावीर सेनापती शिवरामसिंह बस्न्यातकी धर्मपत्नी सुरप्रभाले बनायको मन्दिर हो।

पुन: अर्को साइत जुरायर किर्तिमन्दिरको लागि काठमाडौंको दक्षिण तर्फ, नजिकैबाट अर्को मुर्ती बनाउने साइत आयो र दोस्रो नारायणको मुर्ती बनाइ नारायणस्थान बनाइएको थियो। जुन अहिले पनि रहेको छ। अर्को कुरा, मन्दिरको अगाडि प्राचिन काल देखी ढुङ्गे धारा थियो र अहिले पनि छ। जसलाई 'हिटी' भनिन्थ्यो। पछि त्यो हिटी र नारायणको मन्दिर को संयुक्त नामबाट त्यस क्षेत्रको नाम 'नारायणहिटी' बन्न पुग्यो। उसबखत अहिलेको जत्रो ठुलो दरबार भने थिएन।

मन्त्री धौकलसिंहले एकिकरण युद्धमा गढवाल क्षेत्रमा बीरगति प्राप्त गरेपछी सो नारायणहिटी दरबार मुख्तियार भिमसेन थापाले खोसेर उनका भाई काजी बखतबरसिंह थापालाई दिए। भिमसेन थापाको मृत्‍यु पछी सो दरबार राजखलकका चौतारीया फत्यजङ्ग शाहले पाए। बि. स. १९०३ को कोत पर्बमा चौतारीया फत्यजङ्ग शाह काटिए पछी सो किर्तीमन्दिर प्रधानमन्त्री जङ्गबहादुले उनका भाई रणोदिपसिंहलाई दिए भने हिटी नजिकको धौकलसिंहको अर्को घर धिरसम्सेरलाई दिए, जहाँ पछि लाल दरबर पनि बन्यो। श्री ३ रणोदिपसिंहलाई धिरसम्सेरका छोराहरुले हत्या गरे पछी भने सो दरवारमा श्री ५ बस्न थालेका हुन्। 

तात्कालिन हनुमान ढोका दरबारमा सौतेनी रानीहरुको सड्यन्त्रबाट युबराज अथवा भावी राजालाई बचाउन रणोदिपसिंहले श्री ३ छँदा नै श्री ५ को जिवन सुरक्षाको लागि भनि श्री ५ लाई नारायणहिटीमा संगै राख्न थालेका थिए।रणोदिपको हत्या पछी श्री ३ वीरसम्सेरले किर्तीमन्दिर भात्कायर अर्को दरवार बनाए। पछी राजा महेन्द्रको पालामा अर्थात बि.सं. २०२६ सालमा श्री ३ वीरसम्सेरले बनाएको उक्त दरबार पनि भात्कायर नयाँ भवन् बनाइयो। यसरी यो नारायणहिटी दरबारले नयाँ वा हालको स्वरुप पायो, र अहिले नारायणहिटी दरबार संग्रहालय बनेको छ साथै आम सर्वसाधारणले अवलोकन गर्न पाएका छन्। 

मन्त्री धौकलसिंह बस्न्यातको सम्पत्तीलाई बिनामुल्य यत्तिकै खोसेर थापा खलकले लिएका थिए। त्यो नारायण मन्दिर तथा नारायणहिटीको श्रृष्टीकर्ता मन्त्री धौकलसिंह बस्न्यात नै हुन। उनको बारेमा संग्रहालयभित्र र बाहिरसमेत संग्रहालय भवनको ईतिहास लेखियोस। नेपाल एकिकरण युद्धमा धेरै ठाउँमा बिजय प्राप्त गरेका धौकलसिंहलाई सो दरबार बनाउन अनुमती प्राप्त भएको थियो। उनैका साँहिला दाई प्रधानसेनापती अभिमान सिंह बस्न्यातले असनमा 'मान मन्दिर' बनाए, जसलाई हाल तिलंगा वा पल्टन घर भनिछ। उनलेपनि नेपाल एकिकरणमा धेरै युद्ध जिते पछी तात्कालिक महाराजबाट घर बनाउने अनुमती पाएका थिए।

काजी तथा मन्त्री धौकलसिंह बस्न्यात को हुन् त? 

काजी धौकलसिंह बस्न्यात बडावीर शिवरामसिंह बस्न्यातका कान्छा छोरा हुन्। उनको जन्म बि. सं. १८०३ मा भएको थियो। आफ्ना बाबुले सांगाचोकमा वीरगति प्राप्त गर्दा उनी ६/७ महिनाका शिशु थिए। उनी पनि आफ्ना दाजुहरूका साथै पृथ्वीनारायण शाहको मरवट नीति अनुसार पालित, पोषित एवम् दीक्षित भएका थिए। उनी बडावीर, धीर र शुर थिए। उनी अत्यन्तै सुन्दर रुपका थिए, उनको सुन्दरता, शक्तिसम्पन्नता एवं वीरताको गुण उनमा निहित नैतिक, आर्थिक तथा सामाजिक र राजनैतिक निश्कलङ्कतामा कुनै आँच पुगेन।दानाणि तथा पुण्य कार्यमा उनी हरहमेसा तत्पर रहन्थे। उनबाट दान पाएका याचकहरू पुर्णतया सन्तुष्ट रहन्थे।

​काजी धौकलसिंह बस्न्यात श्री ५ पृथ्वीनारायण शाह र श्री ५ प्रतापसिंह शाहका पालामा कुशल योद्धा तथा श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धवीक्रम शाहका शासन कालमा एक सुयोग्य मन्त्रीको रुपमा कार्यरत थिए।पृथ्वीनारायण शाहको योजना अनुसार चारैतिरबाट आर्थिक नाकाबन्दीको असरबाट छटपटाइरहेका उपत्यकाका तीन मल्ल राज्यहरूमा आक्रमण गरी विजय गर्दा धौकलसिंह बस्न्यात आफ्ना दाजुहरूका साथ युद्धरत थिए। बि.सं. १८२७ देखि बि.सं. १८३० सम्म धौकलसिंहले आफ्ना दाजुहरू केहरसिंह (१८२८ सम्म) र अभिमानसिंहसंग संयुक्तरुपले अधिराज्यको राजश्वसम्बन्धी कार्यको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि अभिमानसिंहले विजयपुर दखल गरे लगत्तै धौकलसिंह आफ्ना दाजु सहित वरिया र टिष्टा नदी बीचका क्षेत्रहरूमा खटिए। त्यसबापत उनीहरूले सिन्धुलीको राजश्व वतनको रुपमा उपभोग गर्न पाउने भएका थिए। 

धौकलसिंह बन्यातलाई हाल काभ्रे जिल्लाको बनेपामा तीन वर्षको लागि राजश्व उठाउने ठेक्का दिइयो। यस काममा पूर्ण सफलता हासिल गरेकाले उनी काजी पदमा नियुक्त भए र पछि उनले मोरङको पूर्वी तराई क्षेत्रमा राजस्व उठाउने र प्रशासन संचालन गर्ने अधिकार पाए। यस निमित्त उनले सालमा ५ हजार रुपैयाँ तलव (बेतन) पाउने गर्दथिए। उनी त्यस पदमा बि.सं. १८४५ बैशाखसम्म बहाल रहेका थिए। यस बीचमा उनको सम्पत्तिमा ठूलो मात्रामा बृद्धि हुन गयो। त्यस बखत वार्षीक बेतन ५ हजार रुपैयाँ ज्यादै ठूलो हुने र खर्च गर्ने क्षेत्र ज्यादै सिमित हुने भएकोले उनी धनी हुनु स्वाभाविकै देखिन्छ। यस अवधिभित्र पनि उनी आवश्यकता अनुसार कार्य सम्पन्न गर्नको लागि विभिन्न ठाउँमा खटिने गरेको पाईन्छ।

उनकी श्रीमती स्वस्तिप्रभाका अनुसार वि.सं. १८२८ मा सतहुँको लडाईंमा हार खाइ भाग्न सफल भएका गोर्खाली सैनिकहरू सेती किनारस्थित सानो राज्य ढोरमा पुगेका थिए। ढोरका राजा आफ्नो पक्षमा रहेका थिए भन्ने थाहा पाएकाले उनीहरू त्यहाँ सुरक्षित भएर रहन चाहन्थे। तर चौविसेहरूले एकगुठ भएर सतहुँमा गोर्खालीहरूलाई नराम्रोसंग हराएकाले उनी पनि गोरखालीहरुसंगै घेरामा परिन्, त्यो खबर पाएर श्री ५ पृथ्वीनारायण शाहले धौकलसिंह बस्न्यात र श्रीहर्ष पन्तलाई सैन्य सहित उनीहरूको उद्धार गर्न तथा पश्चिममा लडाईं जारी राख्न त्यसतर्फ पठाए। प्रभुनारायण मल्ल, रणशुर पाँडे र उनका सैनिकहरू आ-आफ्ना हतियार शत्रुलाई सुम्पेर आउदै गर्दा धौकलसिंह र श्री हर्ष पन्तसंग उनीहरूको भेट भयो (जो नभागी घरैमा रहेका थिए) उनीहरूलाई हात(हतियार सहित उद्धार गरेर सबैलाई साथ लिई धौकलसिंह बस्न्यात र श्रीहर्ष पन्त फर्के। जो हतियार सुम्पेर आएका थिए तिनीहरू बर्खास्त गरिए। हतियारसाथ आउनेहरू थमौतीमा परे।

​वि.सं. १८३५ मा कलकत्तामा दूत भई बसेका दीनानाथ उपाध्यायका सल्लाह अनुसार श्री ५ प्रतापसिंह शाहको हुकुमले धौकलसिंह बस्न्यात पार्थ भण्डारीलाई लिएर केही सैनिकका साथ काशी विजयगढका राजा चेतसिंहका फौजद्वारा काशीमा घेरिएका अंग्रेजहरूलाई उद्धार गर्न मकवानपुर भएर त्यसतर्फ रमाना भएका थिए। त्यो गोर्खाली फौजले पटनाको हाजिपुरसम्म बढेर त्यो इलाका कब्जा गर्‍यो। त्यहाँ उनीहरूले पशुपतिनाथको मन्दिर निर्माण गरे। नजिकै एउटा झिंगटीको पाटी पनि बनाए। त्यस पाटीमा उक्त युद्धको बयान लेखिएको छ, जुन अहिले पनि छ।

​त्यसपछि काजी धौकलसिंह बस्न्यात पश्चिम विजय अभियानका लागि खटिएका थिए। उनी वि.सं. १८३९ देखि बि.सं. १८५२ सम्म त्यस कार्यमा सक्रिय रहेर सफलता हासिल गर्दै थिए, यस क्रममा कास्की विजय गरेर उनी चौतारिया दलजीत शाह, काजी स्वरुपसिंह कार्कीका साथ पोखरामा रहेका थिए। त्यसै बखतमा अर्थात बि.सं. १८५२ मा नायव रानी राजेन्द्रलक्ष्मीको निधन भएकोले उनीहरू काठमाडौं बोलाइए। 

​वि.सं. १८५७ मा भोटले १८५६ को केरुङ सन्धिअनुसार रकम बुझाउन आनाकानी गरेको हुँदा यी दुई देशबीच फेरि लडाईं भयो। भोटको मागअनुसार सहयोग गर्न चिनियाँ फौज आएको थियो। चिनिया फौज र गोर्खालीहरूको बीच घनघोर युद्ध भयो। त्यस बखतमा काजी धौकलसिंह बस्न्यात आफ्ना दाजु काजी अभिमानसिंह बस्न्यातका साथ काभ्रा भन्ने ठाउँमा बसेर गोरखाली फौजको नेतृत्व गर्दै थिए। त्यस युद्धमा दुवैतर्फ धेरै ठूलो क्षति भयो।अन्तमा बि.सं. १८५९ मा बेत्रावतीमा सन्धि भयो, जुन 'बेत्रावती सन्धि' का नामले प्रसिद्ध छ। त्यसपछि काजी धौकलसिंह बस्न्यात कान्तिपुर फर्केर राजदरबारमा कार्यरत रहे।

​काजी धौकलसिंह बस्न्यातले बि.सं. १८४० मा आफ्ना लागि ‘कीर्तिमन्दिर’ नामक एउटा भव्य दरबार बनाएका थिए। कीर्तिमन्दिर निर्माणपश्चात केही वर्षसम्म धौकलसिंह दरबारमै मन्त्री (काजी) को पदमा रहेका थिए। उनले देखाएको राष्ट्रभक्ति अतुलनीय थियो।वि.सं. १७४० मा भारतको कम्पनी सरकारको तर्फबाट कर्णेल कर्क प्याट्रिक राजदूत भएर नेपाल आएका थिए। उनले आफ्नो नेपाल बसाईको बीचमा अनेक चिठीपत्रहरू लेखेका छन्। तीमध्ये उनले तात्कालिन गर्भनर जनरल लार्ड कर्नवालिसलाई सन् १७९३ मार्च १९ मा लेखेको पत्रमा आफुले काठमाडौंमा अरु केही महिना बढी बस्ने इच्छा गरेकोमा विरोध गर्नेहरूमा श्रीकृष्ण शाह, चौतारिया बलभद्र शाह, जीव शाह र धौकलसिंह बस्न्यात पनि थिए भन्ने उल्लेख गरिएको छ। यसबाट के थाहा हुन्छ भने अंग्रेजहरूलाई नेपालमा बस्न दिएमा राष्ट्रको स्वतन्त्रतामा नराम्रो असर पर्छ भन्ने कुरामा धौकलसिंहको दृढ विश्वास थियो।

दरबारमा प्रशासनिक एवं कुटनीतिक क्षेत्रमा राजालाई उपयुक्त राय सल्लाह दिदै धौकलसिंह बस्न्यात सन् १८०० अर्थात वि.सं. १८४७ बैशाखसम्म कार्यरत रहे। त्यस बखतमा स्वामी भएका रणबहादुर शाह आफ्नी जेठी महारानी राजराजेश्वरी शाहका साथ पाटनमा बसेका थिए। उनी राज्य शासनमा सघाउन चाहन्थे। उनको त्यो उद्देश्य बुझेर मुख्तियार दामोदार पाँडे र उनका पक्षधरहरूले नायव महारानी राजराजेश्वरी देवी शाहलाई थाहै नदिई बालक राजा गीर्वाणयुद्धवीक्रम शाहलाई नुवाकोटमा लगेर उनको नामबाट शासन चलाउन थाले। यो देखेर उनीहरू विरुद्ध राजराजेश्वरीले फौजी जवानहरूलाई आदेश जारी गरेकीले (द्वैध शासन) चल्न थाल्यो।यसको समाधानको लागि नुवाकोटबाट फौज रमाना भयो। यो थाहा पाएर स्वामी राजा रणबहादुर शाह, रानी राजराजेश्वरी शाह, सर्दार भीमसेन थापा, बालनरसिंह कुँवर, दलभन्जन पाँडे आदिहरूलाई साथ लिएर काँशी गए र महानिर्वाणनन्द नाम धारण गरेर रहन थाले। जसले गर्दा गृह युद्ध हुन पाएन।

​त्यसपछि बालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई कान्तिपुरमा ल्याइयो र मुमामहारानी सुवर्णप्रभा शाह नायव भइन्। सुवर्णप्रभाले केहरसिंहका माईला छोरा कीर्तिमानसिंह बस्न्यातलाई मुल काजी बनाइन्। त्यसको तीन महिनापछि अर्थात वि.सं. १८४७ असारतिर काजी धौकलसिंह बस्न्यातलाई कुमाउ-गढवालको मुख्य प्रशासकको रुपमा त्यसतर्फ खटाइयो।

​कुमाउँ-गढवाल पुगेर त्यहाँको शासनभार चलाउन थालेको केही महिनापछि धौकलसिंहले फौजी असन्तोषको सामना गर्नुपर्‍यो। किनभने कुमाउँको लालमन्दी किल्ला सुरक्षार्थ गोर्खाली सैनिकहरू तलब र राशनको परिमाणमा बृद्धि होस् भन्ने चाहन्थे। त्यसको निराकरण नभएमा झण्डासहित काठमाडौं फर्किने धम्कीसमेत दिएका थिए। वास्तवमा नुवाकोटबाट पजनी हुँदा नयाँ कम्पनीको निर्माण भएको थियो। त्यस कम्पनीका लागि नयाँ तलब र जग्गाको व्यवस्था नगरी कुमाउँमा रहेका सैनिकहरूले जुन व्यवस्थाबाट तलब र राशन पाउथे त्यसैबाट मिलाइएको थियो। उनीहरूको असन्तोषको कारण यही थियो। उनीहरू धानको सट्टा पैसा लिन चाहन्थे। काजी धौकलसिंहले उनीहरूसंग कुरा गरेर त्यसको निराकरण गरिदिने आश्वासन दिएका थिए र साथै हातहतियार र निशान लिएर कतै नजानु भन्ने निर्देशन दिएका थिए। तर समस्या समाधान हुन ढिलाई भएकोले असन्तुष्ट सैनिक हतियार र निशान लिएर काठमाडौं हिडे। त्यो थाहा पाएर उनीहरूलाई रोक्न धौकलसिंह बस्न्यात धर्मपानी भन्ने ठाउँसम्म पुगे, त्यहाँ उनीहरूले बोकेको झण्डा (निशान) समात्न खोज्दा उनीहरू मध्ये एउटा (ढाकचा सिपाही) ले बन्दुकको कुन्दाले उनलाई हिर्कायो, यसरी घाईते भएका धौकलसिंहलाई दरबारमा पुर्‍याईयो र औषधोपचार गरियो, तर कुनै फाईदा भएन।अन्तमा पाँच दिन पछि विजेश्वरी घाटमा उनको निधन भयो।

​यस विषयमा श्री बद्रीदत्त पाँडेद्वारा लिखित ‘कुमाउँको इतिहास’ भन्ने पुस्तकको पृष्ठ ३९५ मा उल्लेख गरिएको छ। फौजमा केही झगडा उत्पन्न भएको थियो, यस विषयमा उनी (धौकलसिंह बस्न्यात) एउटा सिपाही मार्न चाहन्थे, तर ढाकचा सिपाहीद्वारा उनी आफै मारिए। धौकलसिंह बडो हक्की मिजासका थिए। उनी फौजी काममा पनि होशियार थिएनन्। उनको मिजासको बारेमा लेखकले गोर्खालीहरूप्रति पूर्वाग्रही भएर कसैबाट सुनेको भरमा लेखेका हुनु पर्दछ। वास्तवमा नारायणहिटी शिलालेख अनुसार धौकलसिंह बस्न्यात अत्यन्त दानी, उदार, चरित्रवान तथा सुयोग्य मन्त्री थिए। उनबाट क्रुरतावश कुनै कार्य हुन असम्भव थियो तर निश्छल तथा उदार प्रकृतिका भएकाले फौजी काममा केही दृष्टि पुर्‍याउन नसकेका हुन सक्दछन्। त्यसैको फलस्वरुप उनको हत्या भएको हुनु पर्दछ।

​यसरी कुमाउँ-गढवालको प्रशासनभार सम्हालेको एक वर्ष पनि पुग्न नपाई बि. सं. १८४८ बैशाखमा काजी धौकलसिंह बस्न्यात जस्ता एक सुयोग्य राष्ट्र तथा राजभक्तको दुःखद अवसान भयो। उनका एक मात्र सन्तान रणधीरसिंह बस्न्यात थिए।

कीर्तिमन्दिर मन्त्री धौकलसिंहले श्री ५ रणबहादुर शाहबाट नारायणहिटी क्षेत्रमा जग्गा बक्स पाएर बि.सं. १८४० मा आफ्ना लागि ‘कीर्तिमन्दिर’ नामक एउटा भव्य दरबार बनाएका थिए। प्रधानमन्त्री रणोद्दिपसिंहको समयमा कीर्तिमन्दिरलाई राणा शासकहरूले लिएका थिए र अहिले कीर्तिमन्दिर भएको ठाउँमा नारायणहिटी राजदरबार बनेकोछ। यो माथिनै उल्लेख भइसकेको छ।

कीर्तिमन्दिरको बारेमा त्यहाँ राखिएको शिलालेखले धेरै जानकारी दिने काम गरेकोछ।नारायण मन्दिरमा राखिएको शिलालेखमा “नरपति श्री ५ रणबहादुर शाहबाट प्राप्त गरेर आफ्नो पूर्ण अधिकार भएको यस ठाउँमा ती धौकलसिंहले शुभ फल जन्माउने सबैले कामना गरिएको सुन्दर घर बनाए। छोरा, नाती, कुल, धर्मपत्नी, सत्कर्म र हरिका करुणाले यसमा कीर्ति हुनेछ भनी ठानी धौकलसिंहले यसलाई कीर्तिमन्दिर भने भनी लेखिएको छ। उक्त शिलालेखमा श्रीपाली बस्न्यातहरूको वीरता र गुणहरूको वर्णन गरिएकोछ र यसका रचनाकार बाणीविलास थिए।

काजी तथा मन्त्री धौकलसिंह बस्न्यातका विशेषताहरू

१) काजी धौकलसिह बस्न्यात जति रुपवान थिए त्यतिकै चरित्रवान पनि थिए। उनी परस्त्रीहरू प्रति मातृवत व्यवहार गर्दथे।

२) देव पितृप्रति उनको ठूलो आस्था थियो। 

३) उनी आफ्ना दाजुहरूलाई पितासमान आदर भाव राख्दथे।

४) दानपुण्य कार्यमा उनी सदा अग्रसर हुन्थे। वास्तवमा उनी दानवीर नै थिए।

५) उनी बास्तुकलाप्रेमी पनि थिए। यो कुरा उनले निर्माण गराएका कीर्तिमन्दिरबाट गरिएको बर्णनबाट स्पष्ट हुन्छ।

काजी शिवरामसिंह बस्न्यातकी श्रीमती सुरप्रभा बस्न्यातले आफ्ना दिवंगत पतिको चिर स्मृतिमा काभ्रेपलान्चोक जिल्लास्थित तिमालडाडाँ भन्ने स्थानमा बनाउन लगाएको नारायणको मन्दिर। 

लेखक: ईतिहासविद्व डा. प्रेमसिंह बस्न्यात नेपाली सेनाका पूर्व सहायक रथी हाल नेपाल म्युजियम एसोसियसनका अध्यक्षसमेत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया