शनिबार १२ श्रावण २०८१
बिजनेस

चन्द्रागिरीको आइपीओ यसै हप्ता बाँडफाँट हुने, ११ लाख ११ हजार जना आइपीओ पाउनबाट बञ्चित

सोमबार माघ ५, २०७७/ Monday 01-18-21

काठमाडौं। चन्द्रागिरी हिल्सको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ। यद्दपी, अझै धेरै काम बाँकी रहेको र धितोपत्र बोर्डमा रिपोर्ट पनि नपठाएकाले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ।

११ लाख ११ हजार जना आइपीओ पाउनबाट बञ्चित हुने।

चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ।गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ। यसमा कुल २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। १२ लाख ५१ हजार १० जनाले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका हुन्। यो मागको तुलनामा १७.५३ गुणा बढी हो।

यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६ सय २ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ। ११ लाख ११ हजार भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।

चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो। यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो।
 
बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो। यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो। कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ। 

तपाईको प्रतिक्रिया