माछापुच्छ्रे बैंक भन्छः मोबाइल बैंकिङबाटै ग्राहकको पैसा हराएको हो, सिस्टममा खराबी छैन

काठमाडौं । माछापुच्छ्रे बैंकले रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको पैसा उनकै मोबाइल बैकिङबाट हराएको बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै बैंकले बैंकको सिस्टममा कुनै समस्या नदेखिएको बताएको हो ।
ग्राहकको पैसा स्वयम् उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंक तथा खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।
बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पूर्ण एसएमएस एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ," बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकेको जानकारी दिएको छ ।
बैंकले ग्राहकहरूको खातामा रहेको पैसा सुरक्षित रहेको पनि बताएको छ । डिजिटल बैंकिङ कारोबार गर्दा ग्राहकले सावधानी अपनाउन पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया