शनिबार १२ श्रावण २०८१
प्रवास

जीईएफ सभामा भाग लिन अर्थमन्त्री महत क्यानडा प्रस्थान

सोमबार भदौ ४, २०८०/ Monday 08-21-23

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् ।

क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार राती ९ः३० बजे क्यानडा प्रस्थान गरेका हुन ।

अर्थमन्त्रीसँगै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् ।

यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थ मन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि क्यानडा प्रस्थान गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री महत उक्त सभामा भाइस प्रेसिडेन्टका रूपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ। उक्त सम्मेलनमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ।

अर्थमन्त्री महत करिब १ साता क्यानडामा रहने छन् । क्यानडा बसाइँको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर आवासीय नेपाली र अन्य दातृ निकायहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनीहरूसँग नेपालमा लगानी भित्र्याउन विषयमा मन्त्री महतले छलफल गर्नेछन् ।

यस्तै अर्थमन्त्री महतले यस क्रममा विदेशी लगानीकर्ताहरूसँग समेत नेपालमा लगानी भित्र्याउनका लागि साइड बैठक गर्ने कार्यक्रम तय भएको छ ।

उक्त सम्मेलनमा भाग लिएर अर्थमन्त्री महत भदौ ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया