शनिबार १२ श्रावण २०८१
बिजनेस

प्रधानमन्त्रीको चीन भ्रमणको संघारमा तातोपानीमा आउजाउ खुला

शुक्रबार भदौ १५, २०८०/ Friday 09-01-23

सिन्धुपाल्चोक ।भूकम्प, भोटेकोशी बाढीपछि बन्द भएको तातोपानी नाका ८ वर्षपछि आउजाउ खुला गरिएको छ । नेपाल-चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबारदेखि स्थानीयका लागि आवतजावत खोलिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको संघार पारेर नाकामा स्थानीयको आउजाउ खुलाइएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते बेइजिङ जाँदैछन् ।

यसअघि आयातनिर्यात पटक-पटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधरणका लागि भने खुलाइएको थिएन । शुक्रबारदेखि दुवै देशका स्थानीयका लागि नाकामा आवतजावत खुला गरिएको छ । पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो ।

सर्वसाधरणलाई चीन प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले निलो रंगको पास जारी गरेको छ । २२७ जनालाई उक्त पास जारी गरिएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले जानकारी दिए । नाकाबाट ३० किलोमिटरभित्रका सर्वसाधारणले मात्र पहिलो चरणमा चीन प्रवेश गर्न पाउने छन् ।

स्थानीयका लागि नाका प्रवेशको उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोक-१ का सासंद माधव सापकोटालगायत जिल्लास्थित सुरक्षा निकायका अधिकारीको उपस्थिति थियो ।

नाका खुलेकोमा खुसीयाली साटासाट गर्न चाहेको सासंद सापकोटाले बताए । त्यहाँ पुग्ने पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने संकेत गरेको सासंद सापकोटाले जानकारी दिए । प्रधनमन्त्री प्रचन्डको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने सासंद सापकोटाले बताए । तातोपानी क्षेत्रका व्यापारी विष्णु खत्रीले दुई देशको सम्बन्ध राम्रो हुने र यहाँको जनतालाई राम्रो हुने खत्रीको भनाई थियो ।

तातोपानी भन्सारका प्रमुख दयानन्द केसीले तातोपानी नाकाप्रति चीन सरकार सकारत्मक देखिएको बताए । गाडीमा सामग्री पल्टी गर्दा भने सडकको कारण समस्या रहेको बताए ।

तपाईको प्रतिक्रिया