शनिबार १२ श्रावण २०८१
जीवनशैली

डाक्टर कुटपिटको विरोधमा बाग्मती प्रदेश सभा भवन अगाडि स्वास्थ्यकर्मीको प्रदर्शन

शनिबार भदौ ३०, २०८०/ Saturday 09-16-23

मकवानपुर ।  हेटौडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि भएको कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आज बाग्मती प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका छन्। 

डाक्टर प्रशान्त बिडारी र विकास थापामाथि बुधवार कुटपिट भएपछि कारबाहीको माग गर्दै स्वास्थ्यसंस्थाको आकस्मिक बाहेकका सेवा बन्द गरेर उनीहरु आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भवनभित्र प्रदेश सभा बैठक चलिरहेको छ।

बुधवार बिहान हेटौँडा–१, भिन्तुनापथमा रहेको सञ्चो अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो । गएको साउन २५ मा डेङ्गीबाट चितवनमा ज्यान गुमाएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरलाई कुटपिट गरेका हुन्। 

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक सङ्घले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।

घटनामा संलग्नमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर तीन दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् । घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका छन् ।

तपाईको प्रतिक्रिया