Skip This
बिहीबार १८ पौष २०८१
खेलकुद

नेपाल टी-२० लिग गरेर अपराध गरेका थिएनौं, यसैको परिणामले नेपालले लिग-२ का बाँकी १० खेल जित्यो: चन्द

शुक्रबार असोज ५, २०८०/ Friday 09-22-23

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्यानले नेपाल टी-२० लिग गरेकै परिणाम नेपालले विश्वकप लिग-२ का बाँकी १० खेल जितेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा सुरु भएको क्यानको निर्वाचन साधारणसभाको उद्घाटन कार्यक्रममा अध्यक्ष चन्दले नेपाल टी-२० लिगकै कारण नेपालले पछिल्लो चरणमा राम्रो परिणाम ल्याएको दाबी गरेका हुन् ।

‘तर, बाहिर नेपाल टी-२० लिग गरेर हामीले अपराध नै गरे जस्तो प्रचार गरियो’, उनले भने, ‘हामीले खेल आयोजना गरेका हौं, कुनै अपराध होइन । यही लिगको परिणामस्वरुप नेपालले विश्वकप लिग-२ का बाँकी १० वटै खेल जितेको थियो ।’

उनले अहिले क्रिकेटमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च र सम्मानजनक रहेको भन्दै नयाँ नेतृत्वले यसलाई पछाडि फर्काउने नभई झन् उचाइमा पुर्‍याउनुपर्ने स्पष्ट पारे ।

अध्यक्ष चन्दले नेपालमा रेडबल क्रिकेटसमेत सुरु गर्नुपर्ने अवस्था आएको बताए ।

रेडबल क्रिकेटलाई विश्वस्तरीय मानिन्छ । नेपाल त्यही दिशामा अगाडि बढ्नुपर्ने र नेपालको हालको परिणामलाई अझ माथि पु¥याउन आफ्नै नेतृत्व आवश्यक हुने अध्यक्ष चन्दले घुमाउरो संकेत गरे ।

क्यानको साधारणसभाको आज उद्घाटन सत्रपछि भोलि नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुनेछ । १७ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचन गर्न ८६ जना मतदाता रहेका छन् ।

क्यानमा अध्यक्ष चन्द नै दोहोरिने सम्भावना बलियो छ । उनलाई पारस खड्काको समर्थन रहेको बुझिएको छ । सचिवमा चन्दले खड्कालाई साथ दिएका छन् । जिल्ला र प्रदेशको निर्वाचनपछि चतुर र खड्काबीच सहकार्य भएको छ ।

वर्तमान अध्यक्ष चन्दविरुद्ध बर्दियाका विनय राजभण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया