शनिबार १२ श्रावण २०८१
राजनीति

एमाले कोशी प्रदेशमा ११ सदस्य मनोनीत, अध्यक्षदेखि सबै सदस्यको जिम्मेवारी तोकियो

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा विभिन्न पार्टीबाट प्रवेश गरेका समेत समेटेर ११ जना नयाँ सदस्य मनोनीत भएका छन् । मनोनीत हुनेमा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीदेखि व्यवसायी अरुण राठीसमेत छन् ।

त्यस्तै खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत र विराटनगरका पूर्व उपमेयर मेयर भूराज राई पनि मनोनयनमा परेका छन् । जसपाबाट एमालेमा प्रवेश गरेका रामसिंह राई पनि सदस्य मनोनीत भएका छन् ।

कोशीको प्रथम महाधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकले ३८ जनाको प्रदेश कमिटी सचिवालय गठन गरेको छ । अन्तर कमिटी निर्देशन जारी गर्दै एमाले कोशी प्रदेश कमिटीले सबै सदस्यहरूको कार्य विभाजन समेत टुंगो लगाएको छ ।

अध्यक्ष घनश्याम खतिवडाले स्कुल विभाग लिँदा बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव राजकुमार भण्डारीलाई दिएको छ भने पूर्वमन्त्री लक्ष्मण तिवारीले प्रचार तथा प्रकाशन विभाग प्रमुख (प्रवक्ता) को जिम्मेवारी पाएका छन् ।

पदाधिकारीमध्ये उपाध्यक्ष टिकाराम चेम्जोङ निर्वाचन, उपसचिव देवा राई विज्ञान तथा प्रविधि र उपसचिव जलवर्षा राजवंशी शहरी विकास विभाग प्रमुख बनेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवा लिम्बुले वित्त तथा कोष व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने युवा संघबाट बिदा भएका रोशन बस्नेतले विद्यार्थी इन्चार्ज र प्रभातविक्रम कटुवालले युवा तथा खेलकुद विभागको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया