शनिबार १२ श्रावण २०८१
ग्यालरी

इजरायलले गाजाको अस्पताल र स्वास्थ्य संस्थामा गरेको आक्रमणप्रति नेपाली चिकित्सकहरुको भर्त्सना

आइतबार मङ्सिर १०, २०८०/ Sunday 11-26-23

काठमाडौं । नेपाली चिकित्सकहरुले इजरायलले गाजा बस्तीका अस्पताल र स्वास्थ्य संस्थामाथि गरेको बम आक्रमणको भर्त्सना गरेका छन् ।

इजरायलले केही समयदेखि गाजा क्षेत्रका अस्पताल र स्वास्थ्य संस्थामाथि गरेको बमबारीले कैयौं निर्दोष बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी र नागरिकको हत्या गरेको, घाइते बनाएको र चिकित्सा पूर्वाधारलाई ध्वस्त पार्ने काम गरेको भन्दै नेपालका चिकित्सकहरुले यस्तो कार्यको विज्ञप्तिमार्फत भर्त्सना गरेको छ ।

सामाजिक उत्तरदायित्वका निमित्त चिकित्सकहरु, नेपालका अध्यक्ष डां गणेश बहादुर गरुङ र महासचिव जितेन्द्र परियारद्वारा जारी विज्ञप्तिमा निर्दोष बिरामी र स्वास्थ्य सेवा प्रदायकहरुको रगतले पोतिएर इतिहासको एक लज्जाजनक कलंकित कालो अवधिको रुपमा लेखिने यस्ता अमानवीय अत्याचारहरुलाई तुरुन्त बन्द गर्न आह्वान गरिएको छ ।

यस कार्यको विश्वभरका चिकित्सक र स्वास्थ्यकर्मीहरुले निन्दा गरेको र चिकित्सा हेरचाह केन्द्रहरुको पवित्रताको रक्षा गर्ने अन्तर्राष्ट्रिय सम्झौताहरु पनि उल्लंघन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले हमासद्वारा बन्धक बनाइएका नेपालका बीपीन जोशी र अन्य बन्धकलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् ।

‘हामी प्यालेस्टाइनी जनताको पीडामा उनीहरुको साथमा उभिएका छौं तर चरमपन्थी हमास समूहद्वारा नेपाल र अन्य देशका नागरिकहरु लगायत निहत्था नागरिकहरुमाथि आक्रमण, हत्या र बन्धक बनाउने कार्यको पनि निन्दा र भर्त्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी बीपीन जोशी र अन्य बन्धकहरुलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’

नेपाली चिकित्सकहरुले आफ्नो विरोध संयुक्त राष्ट्र संघलाई पनि पठाएको जनाएको छ ।

इजरायल-हमास युद्धमा इजरायले प्यालेस्टाइनमा विभिन्न अस्पतालहरुमा आक्रमण गरेको समाचार आएपछि नेपाली चिकित्सकहरुसहित विश्वभरबाट विरोध भएको हो ।

तपाईको प्रतिक्रिया