शनिबार १२ श्रावण २०८१
समाज

काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गर्ने युवक पक्राउ

बुधबार मङ्सिर १३, २०८०/ Wednesday 11-29-23

काठमाडौँ । काठमाडौँमा बसेर अमेरिकामा ‘अनलाइन क्यासिनो’ सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी छन् । 

रेग्मीले हारजित हुनेगरी काठमाडौँमा बसेर अमेरिकामा अनलाइन मार्फत जुवा सञ्चालन गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले  बताए । जुवा मार्फत उनले १ करोड ९५ लाख ९५ हजार कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

अनुसन्धानमा संलग्न प्र्रहरी अधिकृतहरुका अनुसार रेग्मीले काठमाडौँमा बसेर जुवाडेहरूलाई ‘अकाउन्टिङ’ गरिदिने गरेका थिए । ‘यहाँबाट म्यानेजमेन्ट टिमलाई डेभिड र क्रेडिट गरिदिने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आरोपीले क्यास एप मार्फत जुवा खेलाउने गरेको देखिन्छ ।’ 

आकाशले दुई वर्षदेखि जुवा खेलाउँदै आएको प्रहरीसँग स्वीकार गरेका छन् । रेग्मीका दाजु अमेरिकामा बस्ने हुनाले त्यहाँको ‘युजर आइडी’बाट काठमाडौँमा बसेर अनलाइन जुवा ह्याण्डलिङ गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

तपाईको प्रतिक्रिया