शनिबार १२ श्रावण २०८१
समाज

नेपालमा पहिलोपटक समलिङ्गी विवाहलाई सरकारी मान्यता

बिहीबार मङ्सिर १४, २०८०/ Thursday 11-30-23

पोखरा। नेपालमै पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो । दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए । 

‘उहाँहरू पहिले पनि आउनुभएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्कायौँ,’ उनले भने, ‘पछि मन्त्रालय, विभागमा पुग्नुभएछ । विभागको पत्र पाएपछि दर्ता गरिएको हो ।’ सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो । दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो । 

विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो । सोहीअनुसार अस्थायी अभिलेख रहने पालिकाले जनाएको छ । ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ, त्यसैगरी सुरक्षित राख्छौँ,’ लामिछानेले भने, ‘विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको हो ।’

तपाईको प्रतिक्रिया