आइतबार २३ बैशाख २०८१
मनोरन्जन

पल शाहविरुद्धको बलात्कार मुद्दा सर्वोच्चले दोहोर्‍याएर हेर्ने

शनिबार मङ्सिर ३०, २०८०/ Saturday 12-16-23

काठमाडौं।  कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्‍याएर हेर्ने अनुमति प्रदान गरेको हो। 

बलात्कारको मुद्दामा शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याइ हेर्न पाउँ भन्दै निवेदन दिएको थियो। उक्त निवेदनमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले दोहोर्‍याएर हेर्न आदेश जारी गरेको हो। 

पल शाहलाई सफाइ दिने गरी उच्च अदालत पोखराले ४ फागुन २०७९ मा सुनाएको फैसलामा प्रमाणहरुको समुचित मूल्याङ्कन नगरिएको सर्वोच्चले ठहर गरेको छ। 

‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको मिति २०७९/११/४ को फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएकाले प्रस्तुत मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतले भनेको छ। 

तपाईको प्रतिक्रिया