शुक्रबार ९ कार्तिक २०८१
समाज

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24

काठमाडौं । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिनेलाई कारबाही गर्ने भएको छ । 

विभागमा महानिर्देशक राजन पोखरेलको नेतृत्वमा सोमबार नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग छलफल गर्दै सिनेमा हल परिसरमा बिक्री गर्न राखिएका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने जानकारी गराएको छ । यदि त्यसरी बढी मूल्य लिएमा कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । 

सिनेमा हेर्न जानेलाई बाहिरबाट पानी र खानेकुरा लग्न नपाइने र भित्र किन्दा बाहिर पर्ने मूल्यभन्दा दोब्बरभन्दा बढी हुने गरेको गुनासोका आधारमा विभागले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग त्यसरी छलफल गरेको हो । 

विभागका अनुगमन शाखाका निर्देशक डिकबहादुर कार्कीले अबदेखि सिनेमा हल सञ्चालकले प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने गरी नेपाल चलचित्र सङ्घमातहतका हललाई पत्राचार गर्न लिखित निर्देशन दिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया