शनिबार १२ श्रावण २०८१
जीवनशैली

टुँडिखेलबाट प्रधानमन्त्रीको आह्वान- हामी शक्तिशाली हुन्छौं, परिवर्तनका पक्षधर गोलबन्द हुनूस्

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुन आवश्यक भएको औल्याएका छन्।

सोनाम ल्होछारका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताए।

उनले भने, म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्। फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, संघीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गरे।

उनले थपे, संघीयताको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ, सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐनलगायत ऐन पारित गर्न उच्च महत्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

उनले अबको मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया