बुधबार २ माघ २०८१
राजनीति

काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25

काठमाडौं । समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार काठमाडौंमा गर्ने भनिएको कार्यक्रम आमसभा हो । ‘हामीले कार्यक्रम भनेको आमसभा भनेका हौं’ उनले भने, ‘उपयुक्त स्थान हेरेर सभा हुन्छ ।’

त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि उनले जानकारी दिए । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए ।

आजको बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।

तपाईको प्रतिक्रिया