शनिबार १२ श्रावण २०८१
राजनीति

माओवादीको सत्तायात्रा- ६३ यता १४ सरकार, चार पटक प्रधानमन्त्री

आइतबार माघ २८, २०८०/ Sunday 02-11-24

काठमाडौं । ‘न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उद्देश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ’ यो भनाइ माओवादीको पूर्वलडाकुसमेत रहेका म्याग्दीका डाइमण्डको हो । उनी अहिले रुसी फौजमा छन् ।

त्यही जनयुद्धको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले देशको प्रधानमन्त्री छन् । यो पहिलो पटक होइन । जनयुद्धकै कमाण्डर तेस्रो पटक प्रधानमन्त्री हुँदा उनलाई सत्तामा पुर्‍याउन बन्दुक बोकेकाहरू अवस्था फेरिन सकेको छैन ।

शान्ति प्रक्रियामा आएपछि निरन्तर सत्तामा रहेका प्रचण्डमाथि जनयुद्धका घाइते र पीडिततर्फ फर्केर हेर्न छाडेको आरोप लाग्दै आइरहेको छ । जुन कुरा माओवादीकै नेताहरू स्वीकार्छन् । तीन पटक सरकारको नेतृत्व गर्दा समेत प्रचण्डले ६ महिनामा टुंग्याउने भनिएको शान्ति प्रक्रियाको बाँकी काम अझै टुंग्याउन सकेका छैनन् । अहिले पनि टीआरसी विधेयक सत्तामा भागबन्डाको हतियार बनिरहेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म १४ वटा सरकार बने तर तीमध्ये चारवटा सरकारको नेतृत्व आफैंले गरेको छ भने ११ वटा सरकारमा सहभागी भएको छ । माओवादीबाट जनयुद्धका प्रचण्डले तीनपटक सत्ताको बागडोर सम्हाल्दा डा. बाबुराम भट्टराईले एकपटक अवसर पाए ।

तर, अहिले उनी अहिले अलग बाटोमा छन् । माओवादीमा हुँदा अवसर पाएकाहरू धेरैले अहिले पार्टी छाडिसकेका छन् । तर, प्रचण्डले पूर्वमाओवादी घटकलाई एकैठाउँमा ल्याउने प्रयास गरेपनि सफल हुन सकेको छैन ।

शान्ति प्रक्रियापछि २०६४ सालको पहिला संविधानसभाको निर्वाचनमा पहिलो शक्तिको रूपमा उदायको माओवादी अहिले तेस्रोमा खुम्चिएको छ । तर, सत्तायात्रा टुंगिएको छैन । कहिले कांग्रेस त कहिले माओवादीलाई प्रयोग गरेर अहिले पनि सत्ताको चाबी आफ्नै हातमा लिन सफल छ ।

‘जनताले सत्ता केन्द्रित भयो भनेका छन्’

जनताले पार्टी नेतृत्वप्रति धेरै गुनासो र प्रश्न गरिरहेको सचिव तथा मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल बताउँछन् ।

उनी भन्छन्, ‘जनताले पार्टी नेतृत्वप्रति धेरै प्रश्न गम्भीर ढंगले उठाएका छन् । नेताहरूले हिजो जनताको बीचमा काम गर्दा कस्तो जीवनशैली अख्तियार गर्थे, आज कस्तो जीवन बाँचेका छन्, जनयुद्धमा लागेकाहरूको हालत के छ, नेताहरूको हालत के छ र नेताहरू पीडितपट्टि फर्किएनन् भन्ने खालका कटू आलोचनाहरू छन् ।’

उनले माओवादी सत्ता केन्द्रित भयो भन्ने आरोप लाग्नु स्वाभाविक भएको ठान्छन् ।

उनी भन्छन्, ‘माओवालाई आरोप लाग्नु स्वाभाविक नै हो । किनभने जनताले आधारभूत आवश्यकता पाएका छैनन् । रोजगारीका समस्या ज्यूँका त्यूँ छन् नि ! केही घटे होलान् । नयाँ युवाहरू पनि बढ्दैछन् । उनीहरूमा हिजो आन्दोलनको अनुभूति छैनन् ।’

उनले पार्टी नेतृत्व सरकारमा हुँदा पनि आफूहरूले केही नपाएको जनतादेखि कार्यकर्ताहरूको गुनासो आएको सुनाए ।

शान्ति प्रक्रियामा आएपछि सत्तामा पुगेपछि माओवादीले आफ्नो एजेण्डा भूलेको राजनीतिक विश्लेषक रोशन जनकपूरी बताउँछन् ।

उनले भने, शान्ति प्रक्रियामा आउनलाई माओवादीले नयाँ जनवादी राज्य निर्माणको प्रक्रिया, श्रमजीवीहरूको राज्य बनाउने मार्स्कवादी लक्ष्य र उद्देश्यसहित आएका हुन् । अहिले पनि त्यो सानो हिस्सा त त्यही प्रयत्नमा छ । ठूलो हिस्सा राज्यसत्तामा प्रवेश गरेपछि त्यहीँ हराएको छ ।

उनले माओवादी सत्तामा गएपछि लक्ष्यबाट विचलित भएका उनको भनाइ छ ।

सधैँ सत्ताको वरिपरी

अहिले माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री छन् । उनीसहित रेखा शर्मा, शक्तिबहादुर बस्नेत, सुदन किराती, महिन्द्र राय यादव र सुशीला सिर्पाली ठकुरी मन्त्री छन् । यादव माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएपछि प्रचण्डले मन्त्री बनाएको भएपनि नेसपामा छन् ।

माओवादीको सत्ता यात्रा २०६३ बाट सुरू भएको हो । शान्ति प्रक्रियामा आएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सहभागी बन्यो । त्यसबेला कृष्णबहादुर महरा, देव गुरूङ, हिसिला यमी, मातृका यादव, खड्कबहादुर विश्वकर्मा सरकारमा गए । तर, तीमध्ये अहिले यमी र विश्वकर्मा माओवादीमा छैनन् ।

सरकारमा सहभागी भएपछि ०६४ मा भएको निर्वाचनमा पहिलो शक्ति बनेपछि एमाले र तत्कालीन मधेसी जनअधिकार फोरमको समर्थनमा ०६५ मा प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए । प्रचण्ड नेतृत्वको सरकारमा बाबुराम भट्टराई, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरूङ, हिसिला यमी, पम्फा भुसाल, जनार्दन शर्मा, गोपाल किराती, मातृका यादव र लेखराज भट्ट मन्त्री बने ।

०६६ मा प्रधानसेनापति रूक्माङ्गद कटुवाल प्रकरणका कारण राजीनामा दिए । तर, त्यसबेलामा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका भट्टराई, बादल, यमी, किराती, भट्ट अहिले माओवादीमा छैनन् ।

प्रचण्डको राजीनामापछि माधव नेपाल नेतृत्वको सरकार बनेको थियो । तर, त्यसबेला सरकारमा गएन । तर, माधव सरकार ढालेर माओवादीको समर्थनमा ०६७ मा अर्का एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री बने । त्यसबेला पनि कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, वर्षमान पुन, टोपबहादुर रायमाझी, पम्फा भुसाल, ओनसरी घर्ती, लोकेन्द्र बिष्ट, पोष्टबहादुर बोगटी, शक्तिबहादुर बस्नेत, खड्गबहादुर विश्वकर्मा, जयपुरी घर्ती, प्रभु साह, विश्वनाथ साह, देवी खड्का, धर्मशिला चापागाई, हितबहादुर तामाङ बनेका थिए ।

खनाल नेतृत्वको सरकारपछि ०६८ मा माओवादीकै बाबुराम भट्टराई प्रधानमन्त्री बने । ०६९ मा संविधानसभा विघटनपछि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकारमा पनि माओवादीले दुई मन्त्री पठाएको थियो । त्यसपछि ०७० सालमा बनेको सुशील कोइराला नेतृत्वको सरकारमा माओवादी गएन ।

कोइराला सरकार ढलेपछि ०७२ असोजमा एमाले ओली प्रधानमन्त्री भए । त्यसबेला माओवादीले ७ जनालाई मन्त्री बनाएको थियो । तर, ०७३ मा ओली नेतृत्वको सरकार गिराएर फेरि प्रचण्ड सत्तामा पुगे ।
प्रचण्ड सरकार करिब ९ महिनामा ढलेपछि ०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । त्यो सरकारमा पनि माओवादीले १७ जना सरकारमा पठाएको थियो । देउवा सरकारमै रहेको बेलामा ०७४ को निर्वाचनमा प्रचण्डले माओवादीलाई एमालेसँग गठबन्धन गराए ।

गठबन्धनलाई पार्टी एकतामा रूपान्तरण गर्ने सहमतिअनुसार ०७४ फागुनमा ओली प्रधानमन्त्री बने । त्यसबेला माओवादीले रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, लेखराज भट्ट, चक्रपाणी खनाल, मातृका यादव, बीना मगर, रामेश्वर राय र रामकुमारी चौधरीलाई सरकारमा पठाएको थियो ।

तर, ओलीले संसद् विघटनपछि त्यो सरकार पनि गिर्‍यो । बादल र भट्टसहित माओवादीका केही नेताहरू ओली सरकारमा गएर प्रचण्डको साथ छाडे । राजनीतिक उतारचढावका बीचमा ०७८ वैशाख ३१ मा ओली तेस्रो पटक प्रधानमन्त्री बनेपनि माओवादी सरकारमा गएन ।

त्यसपछि ओली नेतृत्वको सरकार मात्रै ढलेन । नेकपाको एकता पनि त्यहीबीचमा भंग भयो । त्यपछि प्रचण्ड, माधव नेपालसहित नेताहरूले अदालतमा गएर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न परमादेश मागेअनुसार ०७८ असार २९ मा प्रधानमन्त्री भए । देउवा सरकारमा पनि माओवादीले ६ जना पठाएको थियो ।

देउवा सरकारमा पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमायाकुमारी यादव सरकारमा थिए । तर, प्रचण्डले आफूलाई अहिले पनि तेस्रो तर निर्णायक शक्तिमै राख्न सफल भएकाले सत्ताबाट टाढा बस्नुपरेको छैन ।

अहिले पनि प्रचण्डपछि गठबन्धन टिकिरहे आलोपालो सहमतिअनुसार प्रचण्डपछि देउवा वा माधव नेपाल जो प्रधानमन्त्री भएपनि आगामी निर्वाचनसम्म माओवादी सत्ताबाट टाढा बस्नुपर्ने अवस्था छैन ।

‘सत्तामा बसेर जनताको काम गरेका छौं’

तर, माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङ माओवादीले सत्तामा बसेर जनताको काम गरिरहेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘अहिलेको यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माओवादीकै कारणले आएको हो । त्यसैले माओवादी सरकारमा नजाने भन्ने होइन । तर, सरकारमा बसेर हामीले जुन सपना देखाएका थियौं त्यो अनुरूपको डेलिभरी अहिलेको आवश्यकता हो । त्यसमा अहिले हामी केन्द्रित छौं ।’

उनको भनाइ जस्ताको तस्तै

माओवादी सत्ता केन्द्रित भएको होइन । हामी त जनयुद्धको प्रक्रिया हुँदै समग्र सत्ताको नेतृत्व गर्ने भनेरै आएको हो । सत्ताको नेतृत्व गलत व्यक्तिको हातमा थियो । उनीहरूले फरक ढंगले नेतृत्व गरेका थिए । त्यसकारणले जनतालाई अधिकार, न्याय र अधिकार तलसम्म पुग्न सकेको थिएन । त्यसैले त्यो प्रणाली गलत छ भनेर नै त्यो प्रणालीलाई बदल्न जनयुद्धको प्रक्रियाबाट जानुपर्छ । र त्यो माध्यमबाट जनताको नेतृत्वमा बन्ने सरकारको नेतृत्व माओवादीले गरेर जनताको आवश्यकता पूरा गर्नुपर्छ । र सबै समुदायलाई अधिकार दिनुपर्छ भन्ने लडाइँ नै माओवादीको धारणा हो । अहिलेको यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माओवादीकै कारणले आएको हो । त्यसैले माओवादी सरकारमा नजाने भन्ने होइन । तर, सरकारमा बसेर हामीले जुन सपना देखाएका थियौं त्यो अनुरूपको डेलिभरी अहिलेको आवश्यकता हो ।

त्यसमा चाहिँ पार्टी अलिक राम्रो सशक्त ढंगले सहयोग गर्नुपर्छ र सरकारले पनि त्यस अनुरूपको परिणाम दिनुपर्छ त्यसैले सत्ता केन्द्रित भयो भन्दापनि सत्ता केन्द्रित भएर जनता केन्द्रित काम गर्यो कि गरेन भन्ने कुरा हो । तर, अहिलेको सरकारले तुलनात्मक हिसाबले राम्रो काम गरिरहेको छ ।

सरकारले राम्रो काम गरिरहेको बेलामा पार्टी संगठनलाई चलायमान बनाउनको लागि चार महिने अभियान चलाएका थियौं । जनयुद्धको बेपत्ता घाइते परिवार भेटेका छौं । नेता कार्यकर्ताहरूको गुनासो पार्टीको केन्द्रसम्म पुगेका छन् । पार्टीको नेतृत्वमा भएको सरकार र पार्टीको पछिल्लो निर्णयहरू पार्टी विभाजनदेखि समाजवादी मोर्चाको पार्टी एकताको सम्भावनासम्मका कुराहरू हामीले जनतासम्म पुर्‍याएका छौं । जनताको समस्या, गुनानो, आलोचनालाई पनि पार्टी नेतृत्वसम्म ल्याएका छौं ।

तपाईको प्रतिक्रिया