शनिबार १२ श्रावण २०८१
खेलकुद

नेपाललाई नेदरल्यान्डले दियो १२१ रनको लक्ष्य

शनिबार फाल्गुण १९, २०८०/ Saturday 03-02-24

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेदरल्यान्डले नेपालसामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्डलाई सस्तोमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका प्रतिशले १३ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

करण केसीले पहिलो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

त्यसपछि नवौँ ओभरमा प्रतिश र दसौँ ओभरमा कुशलले २–२ लिए । प्रतिशले १५ ओभरका एक विकेट लिँदा १८औं ओभर दीपेन्द्रको बलिङमा नेदरल्यान्डले दुई विकेट गुमाएको हो ।

ब्याटिङमा नेदरल्यान्डका म्याक्स ओ डाउडले ३१ रन बनाए । टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट भए । रोलफ भान डर मव २३ रनमा अविजित रहे ।

तपाईको प्रतिक्रिया