शनिबार १२ श्रावण २०८१
समाज

ढोलाहिटीमा दुई जनाको हत्या घटनामा फरार रहेका व्यक्तिले गरे आत्मसमर्पण

मंगलबार चैत २०, २०८०/ Tuesday 04-02-24

काठमाडौं । ललितपुरको ढोलाहिटीस्थित रेष्टुरेन्टमा दुई जनाको हत्या भएको प्रकरणमा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्।

ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए । यो घटनामा यसअघि नै प्रहरीले ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

फागू पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

डी पोपिना खाजाघरमा दुई पक्षबीच विवाद हुँदा चक्कु प्रहारबाट उनीहरुको हत्या भएको थियो । डी पोपिनाका तीन सञ्चालकमध्ये एक विजय राई घटनाका मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनले नै हानेको चक्कुका कारण दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ ।

हत्यापछि राईलाई मोटरसाइकलमा राखेर भगाउन हाल पक्राउ परेका राजु गुरुङले सहयोग गरेका थिए । भगाउन प्रयोग भएको मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले बताए ।

हत्यामा संलग्न भएको आशंकामा सुरुमा प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेकामध्ये चार जनाविरुद्ध मात्रै कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको थियो । अहिले पक्राउ परेकासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढ्ने एसएसपी खनालले बताए ।

यसअघि पक्राउ पर्नेहरुमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई छन् ।

पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजय यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भई खाजाघर खोलेका थिए ।

तपाईको प्रतिक्रिया