काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । हिजो भएको खेलमा लिभरपुलले टोटनहमलाई ४–२ ले हराएको हो । खेलको १६ औँ मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा लिभरपुलका लागि एन्ड्रयु रोबर्टसनले दोस्रो गोल गरे । ५० औँ मिनेटमा गाक्पोले लिभरपुलका लागि तेस्रो गोल गरे ।
यस्तै खेलको ५९ औँ मिनेटमा लिभरपुल हार्वी इलियटले चौथो गोल गरेका हुन् । टोटनहमले दुई गोलले भने फर्काएको थियो । उसका रिचार्लिसनले खेलको ७२ औँ मिनेटमा एक गोल फर्काए । यस्तै ७७ औँ मिनेटमा कप्तान सन ह्युङ–मिनले दोस्रो गोल गरे । जित पछि लिभरपुल ३६ खेलमा ८१ अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत् छ । टोटेनहम भने ३५ खेलमा ६९ अङ्कका साथ पाचौँ स्थानमा रहेको छ ।
प्रिमियर लिगको हिजो भएको अर्को खेलमा चेल्सीले सानदार जित दर्ता गरेको छ । चेल्सीले वेस्ट ह्यामलाई ५–० को फराकिलो अन्तरले हराएको हो । चेल्सीका कोल पालमरले खेलको १५औँ मिनेटमा पहिलो गोल गरे । ३० औँ मिनेटमा कनर ग्यालाघरले र त्यसको ६ मिनेट पछि नोनी मडुएकेले गोल गरे ।
खेलको ४८ औँ मिनेटमा निकोलस ज्याक्सनले चौथो गोल गरे भने ८० औँ मिनेटमा ज्याक्सनले नै अर्को गोल थपे । जितपछि चेल्सी ३५ खेलमा ५४ अङ्कसहित सातौँ स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३६ खेलमा ४९ अङ्कसहित नवौँ स्थानमा छ ।
हिजो भएको अर्को खेलमा ब्राईटनले एस्टन भिल्लालाई १–० ले हराएको छ । खेलको ८७ औँ मिनेटमा ब्राईटनका जोआओ पेड्रोले गोल गरे । ३५ खेलमा ४७ अङ्क रहेको ब्राइटन ११ औँ स्थानमा छ भने एस्टन भिल्ला ३६ खेलमा ६७ अङ्क सहित चौथो स्थानमा छ ।
तपाईको प्रतिक्रिया