सुदूरपश्चिमविरुद्ध पाँच विकेटको जितसहित जनकपुर बन्यो एनपीएल च्याम्पियन
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो ।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ ।
जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सातू ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।
यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए ।
तपाईको प्रतिक्रिया