शनिबार १२ श्रावण २०८१
समाज

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

मंगलबार जेठ १, २०८१/ Tuesday 05-14-24

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह  कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् । 

महानगर प्रमुख बालेनसँग कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि फ्रान्सतर्फ लागेका हुन् ।  कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम छ । बालेनले त्यो अवधिमा फेस्टिभलका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने बताइन्छ ।

मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता समेत हुँदैछ । बालेनले फेस्टिभलको रेड कार्पेट तथा प्रीमियरमा समेत सहभागिता जनाउने निश्चित भएको छ । 

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको समेत आयोजना गरिने बताइन्छ । बालेनले कान्स फिल्म फेस्टिभलको क्रममा अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यक्रम पनि तय भएको छ । 

यसअघि, गत वर्षको कात्तिक महिनामा युनेस्कोले नेपालको संघीय राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचीकृत गरेको छ । फ्रान्सको कान्स पनि फिल्मको क्रिएटिभ सिटीको रूपमा सूचिकृत भएको सहर हो ।  त्यसैले कान्सका मेयरले बालेनलाई पठाएको निमन्त्रण पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसरको रूपमा उल्लेख गरेका छन् । 

तपाईको प्रतिक्रिया