शनिबार ८ असार २०८१
बिजनेस

मेसिनको भुक्तानी नदिएपछि फेरि रोकियो स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट

आइतबार जेठ २७, २०८१/ Sunday 06-09-24

काठमाडौं । नयाँ कार्ड आएपछि सुरू भएको सवारी स्मार्ट लाइसेन्स छपाई पुनः बन्द भएको छ । नेपालमा लाइसेन्स छाप्न मेसिन ल्याएको कम्पनीले वारेन्टीपछिको पैसा माग्दै हिजोबाट मेसिन नै बन्द गराएको हो ।

नयाँ कार्ड आएपछि विभागले करिब १ लाख ५० हजार कार्ड छापेको छ । भने, हिजो शनिबार करिब ४ हजार कार्ड छाप्ने तयारी रहेको थियो । तर, कार्ड छाप्ने मेसिनलाई सफ्टवेयरमार्फत आटोमेटिक बन्द गराएपछि अहिले नयाँ लाइसेन्स छाप्ने काम रोकिएको हो ।

अहिले यातायात व्यवस्था विभागसँग भएको मास प्रिन्टरको दैनिक ४५ सय लाइसेन्स छाप्ने क्षमता छ । इटलीबाट आयात गरिएको ‘माटीका’ कम्पनीको यो मेसिनको ३ वर्षे वारेन्टी थियो । वारेन्टी सकिपछि दिनुपर्ने भुक्तानी नदिएपछि लाइसेन्स प्रिन्ट प्रक्रिया बन्द गराइएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले हिजोबाट नयाँ लाइसेन्स प्रिन्ट रोकिएको बताए ।

उनले भने, ‘अहिले सञ्चालन भइरहेको मास प्रिन्ट गर्ने प्रिन्टरमा प्रयोग हुने सफ्ट्वेयरबाट कन्टोल गरेर नेपालमा मेसिनले लाइसेन्स नै नछाप्ने बनाएका छन् । हामीले कुरा गरेका छौं । वारेन्टी सकिएपछि २० प्रतिशत भुक्तानी दिनुपर्ने हुन्छ । अहिले आयातकर्ताले त्यही भुक्तानी मागरे मेसिन बन्द गराएका हुन् । १ करोड ५० लाख जति भुक्तानी गर्नुपर्ने हुन्छ । हामीले त्यो भुक्तानी दिनको लागि पैसा निकासा गर्न छलफल गरिरहेका छौं । सफ्टोयरबाट लाइसेन्स छाप्न सकिने बताइदिन्छु भनेर कम्पनीले भनेको छ ।’

नयाँ कार्ड आएपछि विभागले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका यातायात कार्यालयमा लाइसेन्स प्रिन्ट गरेर पठाइसकेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको २०२२ डिसेम्बरसम्मको लाइसेन्स छपाइ भइसकेको छ । नेपालगञ्ज र दाङको लाइसेन्स छपाइ भइरहेको बेला मेसिन बन्द गराइएको छ ।

नेपालभर गरेर अहिले १६ लाख ट्रायल पास गरेका र नवीकरण गर्न दिएकाहरूले लाइसेन्स पाएका छैनन् । विभागले यसभन्दा अघि नै पटक-पटक लाइसेन्स छाप्न सुरु गर्ने भने पनि लामो समय काम सुरू गरेको थिएन ।

चालू आर्थिक वर्षमै २० लाख कार्ड र प्रिन्टर किन्ने योजना विभागले राखेको छ । विभागसँग हाल महिनामा करिब १ लाखमात्रै कार्ड छाप्न सकिने क्षमताको प्रिन्टर छ । अहिले भएको कार्ड छाप्नलाई करिब ११ महिना लाग्ने छ ।

नयाँ स्मार्ट लाइसेन्स दिन नसके पनि देशभरबाटै नयाँ लाइसेन्सको लागि लिखित र ट्रायल चलिरहेको छ । ट्रायल पास गरेकाहरू यातायात कार्यालयहरुले दिएको चिट बोकेर हिँडिरहेका छन् । बागमती प्रदेश अन्तरगत रहेका यातायात कार्यालयमा जेठ १ गतेदेखि ट्रायल रोकिएको छ ।

तपाईको प्रतिक्रिया