बुधबार २३ माघ २०८१
राजनीति

सरकारका प्रवक्ताको स्पष्टोक्तिः छ महिनामा देखिनेगरी केही काम भएको छैन

बुधबार माघ २३, २०८१/ Wednesday 02-05-25

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले छ महिनाको अवधिमा सरकारले देखिने गरी कुनैपनि काम गर्न नसकेको टिप्पणी गरेका छन् । सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आज (बुधबार) रफत सञ्चार क्लबको १५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आयोजना निर्माणमा भएको ढिलाइका कारण वर्तमान सरकार गठनको ६ महिनासम्म पनि देखिने गरी एउटा पनि काम हुन नसकेको उनले बताए । सरकारको प्रवक्त समेत रहेका उनले आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई दोष दिने कुरा उचित नभएको जिकिर गरे । 

मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पारे । कर्मचारीतन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरुद्ध लक्षित नरहेको उनको भनाइ छ ।

विभिन्न मन्त्रालय र कार्यालयमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न उनले आग्रह गरे । 

त्यस्तै, उनले जे मन लाग्यो त्यही लेख्ने र बोल्ने प्रेस स्वतन्त्रता नहुने जिकिर गरे । केही सञ्चारमाध्यमले सामाजिक सद्भाव खल्बल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको उनले बताए । 

तपाईको प्रतिक्रिया