शनिबार १२ श्रावण २०८१
राजनीति

सुमनालाई देवेन्द्र पौडेलको सुझाव : शिक्षकको डीएनए परीक्षण आवश्यक छैन

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24

काठमाडौं । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले शिक्षकको राजनीतिक आवद्धता नखोज्न वर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलले बरु शिक्षकले विद्यालय समयमा कस्तो शिक्षण गरेको छ भनेर अनुगमन र नियमन गर्न आग्रह गरे ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथि भएको छलफलमा बोल्दै उनले उच्च शिक्षा ऐन चाँडोभन्दा चाँडो ल्याउन अनुरोध गरे । 

“शिक्षालाई श्रम र उत्पादनसँग नजोड्ने हो भने देशले उन्नति गर्दैन,” उनले भने । श्रम र कृषिसँग शिक्षाको महत्त्व भएको भन्दै उनले प्राविधिक शिक्षाले पुलको काम गर्ने बताए । सांसद पौडेलले ७५३ पालिकामै फरक फरक विषयमा प्राविधिक शिक्षा अघि बढाउनुपर्ने र प्राविधिक शिक्षा आधुनिकीकरण गर्नुपर्ने उल्लेख गरे । 

शिक्षामन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै उनले मन्त्रालयले ३७ हजार विद्यालय नियमन, व्यवस्थापन र परिचालनको काम गर्नुपर्ने भए पनि नकारात्मक विषयमात्र चर्चा हुने गरेको उल्लेख गरे । उनले शिक्षकमाथि लाग्ने आरोप सत्य नभएको भन्दै शिक्षकको अनावश्यक डीएनए परीक्षण गर्ने विषय राम्रो नभएको बताए । 

तपाईको प्रतिक्रिया