आइतबार १६ असार २०८१
समाज

अन्तशुल्कको स्टिकर खरिद प्रकरणमा मुख्यसचिव अर्यालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

आइतबार असार ९, २०८१/ Sunday 06-23-24

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ ।

आरोपपत्र दर्ता हुनासाथ मुख्यसचिव डा. अर्याल स्वतः निलम्बनमा पर्नेछन् । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा लागेको नेपालको निजामति इतिहासमा यो सम्भवतः पहिलो घटना हो ।

अर्यालसँग सुरक्षण मुद्रण केन्द्रबाट बर्खास्तमा परेका विकल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन गर्ने काममा संलग्न थिए ।

सञ्चार मन्त्रालयको वार्षिक बजेटभन्दा बढी स्रोत सुनिश्चितता पाएको सुरक्षण मुद्रण केन्द्रले त्यसपछि अन्तशुल्क स्टिकर छाप्ने काम अघि बढाउन भन्दै प्रिन्टर आयात गरेको थियो । पछि सुरक्षण मुद्रण केन्द्रले पनि तेस्रो पक्षलाई ठेक्का दिएको हो । यही ठेक्कामा अख्तियारले प्रश्न उठाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया