आइतबार १६ असार २०८१
अनुसन्धान

जब मामाकै योजनामा प्रहरीसमेत मिलेर लुटे भाञ्जाको घर

मंगलबार असार ११, २०८१/ Tuesday 06-25-24

काठमाडौं ।बुढापाकाले त्यसै भनेका होइनन्, ‘यो कली हो कसैको भर गर्नु हुँदैन ।’ बुढापाकाहरूको यही उक्तिलाई पुष्टि गरिदिएका छन् पाँचपोखरी गाउँपालिका-२ सिन्धुपाल्चोकका कुलबहादुर खत्रीले ।

कुलबहादुरले साथी र प्रहरीको समेत प्रयोग गरेर आफ्नै भाञ्जाको घरबाट करोडौं लुटपाट गरेका छन् । भाञ्जाको घर लुटपाट‍को योजना बनाएका उनी अहिले फरार छन् । तर उनको योजनामा लुटपाटमा जुटेका अरु सबैजना प्रहरीको फन्दामा परिसकेका छन् ।

अर्कातिर लुटपाटको योजना बनाएका कुलबहादुरले यसअघि दुई पटकसम्म आपराधिक घटनामा संलग्न भइसकेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय सुजन रसाइलीसहितलाई प्रयोग गरेको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार यो लुटपाटमा कुलबहादुरले नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत ३८ वर्षीय हबल्दार कृष्णबहादुर बोहरालाई पनि प्रयोग गरेको खुलेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

लुटापाटमा संलग्न भएकामध्ये ओखलढुङ्गाको मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३१ वर्षीय रसाइली र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका हबल्दार बोहरा रहेका छन् ।

यही असार ४ गते मध्यराति लुटपाटमा परेको घर थियो भक्तपुरको सूर्यविनायक नगरपालिका-४ दधिकोट निवासी ३५ वर्षीय डिल्लीबहादुर राउतको । जुन घरमा उक्त राति ३ जना व्यक्तिहरू आफूलाई सीआईबीका प्रहरी भन्दै खुकुरी देखाएर छिरेका थिए ।

उनीहरूले आफूलाई सीआईबीका प्रहरी भएको बताउँदै लुटापट गर्दा प्रहरी हबल्दार बोहोरा पनि संलग्न थिए । प्रहरीमा चरित्र राम्रो नभएर पटक पटक कारबाही र नसिहत भोगिसकेका उनी पनि अहिले अपराध अनुसन्धान कार्यालयको फन्दामा परिसकेका छन् ।

यो सबै लुटपाटको योजना बनाउने कुलबहादुर खत्री भने फरार छन् । कुलबहादुररले आफ्ना भाञ्जा डिल्लीबहादुर राउतको घरमा नगद रहेको जानकारी पाएपछि लुटपाटको योजना बनाएको प्रहरी उपरीक्षक जिसीले बताएका छन् ।

एक साताअघि भएको यो घटनालाई पीडितहरूले गोप्य राखेको खुलेको छ । तर लुटपाट भएको घटना अन्यि स्रोतबाटै थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयले छानबिन अघि बढाएको थियो ।

त्यसक्रममा रसाइली र तामाङ यही असार ७ गते भक्तपुर र काभ्रेको सीमाक्षेत्र साँगाबाट समातिए । मुनाराज यही सोमबार उनको गृहजिल्ला ओखलढुंगाबाट पक्राउ परे । हबल्दार बोहोरलाई प्रहरीले उनी कार्यरत ब्यारेक क्षेत्रबाटै समातेको हो ।

भाञ्जाको घर लुट्न साथीको प्रयोग 

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार कुलबहादुरलाई भाञ्जा डिल्लीबहादुरको घरमा करोडौँ रकम रहेको जानकारी मिलेको थियो । त्यसपछि उनले वैदेशिक रोजगारीका क्रममा परिचय भएका साथी सुजनलाई भनेर लुट्ने योजना बनाएका थिए ।

यद्य लुटपाटमा मुछिएका प्रहरी हबल्दार बोहरा र भीमबहादुर पनि पुराना चिनजानका साथी थिए । प्रहरी हबल्दार बोहोरा लागुऔषधको कुलतमा फसेको पनि खुलेको छ । यसअघि पटक पटक प्रहरीको विभागीय कारबाहीमा परेका बोहोरालाई उनका साथी भीमबहादुरले नै लुटपाटमा जोडेका खुलेको छ।

योजनाअनुसार कुलबहादुरले असार ३ गते सुजनलाई भाञ्जाको घरमा रेक्की गर्न पठाए । सुजनले गरेको रिपोर्टिङअनुसार उनीहरूले त्यसको भोलिपल्ट राति डिल्लीबहादुरको घरमा लुटपाट योजना बनाए ।

एसएसपी भट्टराईका अनुसार उनीहरूले असार ४ गते डिल्लीबहादुरको घरमा लुटपाट गर्ने योजना भक्तपुरकै कौशलटारमा बनाए । कौशलटास्थित लाइभ बर्ग र एन्ड पिज्जा प्वाइन्टमा ४ गते राति ११ बजे जम्मा भएर योजना बनाइसकेपछि उनीहरू लुटपाटका लागि डिल्लीबहादुर घर रहेको दधिकोटतिर सोझिएका थिए ।

त्यसपछि उनीहरूमध्ये सुज, भीमबहादुर, मुनाराज र प्रहरी हबल्दार बोहोरासहित डिल्लीबहादुर घरमा मध्यराति छिरे । खुकुरीसमेत बोकेका उनीहरूले सीआईबीका प्रहरी हौँ भन्दै परिचयपत्र समेत देखाएर दराजमा रहेको २ करोड रुपैयाँ लुटेर फरार भएका थिए ।

लुटेर लगेको उक्त रकम गोकर्णेश्वर नगरपालिका-४ माकलबारीस्थित भीमबहादुरको कोठामा लगेर कुलबहादुरसहित पाँचैजनालाई दामासाहीले बाँडफाँट गरेका थिए ।

लुटिएकोमध्ये केही खर्च गरेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए । उनकाअनुसार पक्राउ परेकाहरूबाट ३६ लाख रुपैयाँ बरामद भएको छ ।

प्रहरीका अनुसार लुटपाट भएपछि पनि पीडित परिवारले कतै जाहेरी दिएको थिएन । यो प्रकरणमा लुटपाटमा संलग्न खत्री र राउतले विभिन्न माध्यमबाट नेपाली युवाहरूलाई युरोपेली देशमा पठाउने गरेका थिए । प्रहरीले युवाहरूलाई विदेश पठाएवापत् लिएको रकम हुन सक्ने अनुमान गरेको छ । तर राउत परिवारले आम्दानीको श्रोत खुलाउन सकेको छैन ।

प्रहरीले राउत र खत्री परिवारको पेशा व्यवसायबारे छानबिन गर्दा उनीहरूले हुन्डी कारोबार गरेको हुन सक्ने पनि आशंका गरेको छ। त्यसबारे पनि छानबिन अघि बढिरहेको प्रहरीको भनाइ छ ।

राउत परिवारले कानुनी झमेलामा पर्न सक्ने चिन्ताले घटनाबारे अझै पनि प्रहरीलाई विस्तृत कुरा खुलाएका छैनन्।

सुजनको खराब ट्रयाक रेकर्ड 

लुटपाटमा संलग्न सुजनको ट्रयाक रेकर्ड पहिलेबाटै खराब रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी २०७६ कात्तिक ४ गते काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेका थिए । उनले सुन जस्तो पहेँलो धातु देखाई ठगी गरेपछि मुद्दा चलेर छुटेका थिए ।

त्यसपछि २०८० जेठ ११ गते कुटपिट तथा झै–झगडा गरेको अभियोगमा प्रकाउ परेर अभद्र व्यवहारमा कारवाही भई इलाका प्रहरी कार्यालय बाह्रविसेबाट छुटेको खुलेको छ ।

तपाईको प्रतिक्रिया