आइतबार २३ असार २०८१
अर्थ

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

बिहीबार असार २०, २०८१/ Thursday 07-04-24

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी अनुसार बैंकले ललितपुरको गोदावरी नगरपालिका-३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने सहमति भएको छ। यसका साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रुपमा समेत रहनेछ।

उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरे। बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र त्यसपछि कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ।

इको–फ्रेन्डली घर-भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरणमैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ। यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामै शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। यस बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ।

तपाईको प्रतिक्रिया