आइतबार २३ असार २०८१
समाज

जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता केन्द्र सञ्चालन

बिहीबार असार २०, २०८१/ Thursday 07-04-24

त्रिशूली (नुवाकोट) । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रशासन कार्यालयमा सेवा लिन पुग्ने ज्येष्ठ नागरिकलाई लक्षित गर्दै त्रिशूली अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणको लागि स्वास्थ्य सहायता केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनको अनुसार सेवा लिन पुग्ने ज्येष्ठ नागरिकको परीक्षणसहित स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको छ ।

“ज्येष्ठ नागरिकमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने र उहाँहरुले रोगले नच्यापेसम्म जाँच गराउन नजाने पाइएकाले प्रशासनको सेवासँगै निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण थालिएको छ ।” उनले भने, “सामाजिक सुरक्षाभत्ता प्राप्तिको लागि राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको सङ्ख्या निकै बढेका छन् । यही मौकामा उनीहरुको प्राथमिक स्वास्थ्य उपचारसहित स्वास्थ्य परामर्श र थप उपचार आवश्यक पर्नेलाई त्रिशूली अस्पतालमा सिफारिस गर्न भनिएको छ ।”

जिल्ला प्रशासनको आग्रह र अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिकको उपचार सेवा सञ्चालनमा ल्याइएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र लामाले जानकारी दिए । उनका अनुसार सहायता केन्द्रमा नर्स, स्वास्थ्य सहायक (एच ए), फार्मेसी तहका कर्मचारीबाट सेवा विस्तार गरिएको छ । आवश्यकताअनुसार माथिल्लो तहका स्वास्थ्यकर्मीसमेत उपलब्ध गराई सहायता केन्द्रको सेवालाई प्रभावकारी बनाउने लक्ष्य लिइएको मेसु डा लामाको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया