शुक्रबार २ कार्तिक २०८१
खेलकुद

टी-२० विश्वकप २०२६ : एसिया र इस्ट एसिया प्यासेफिकको एउटै छनोटबाट ३ टोली छानिने

सोमबार श्रावण ७, २०८१/ Monday 07-22-24

काठमाडौ ।आइसिसीको बोर्ड बैठकले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि क्षेत्रीय छनोटको कोटा निर्धारण गरेको छ। 

बैठकले अफ्रिका र युरोपका लागि दुई-दुई वटा कोटा निर्धारण गरेको छ। यस्तै अमेरिका क्षेत्रबाट एक टोली विश्वकप २०२६ मा छनोट हुनेछ। 

अब एसियाका लागि भने तीन वटा कोटा निर्धारण गरिएको छ। यसअघि एसिया र इस्ट एसिया प्यासेफिक गरी दुई वटा छनोट हुने गरिएकोमा अब दुवैलाई गाभ्दै एउटै एसिया छनोट हुने भएको छ।

एसिया छनोटमा नेपाल, ओमान र पपुवा न्युगिनी सिधा छनोट भइसकेका छन्। अब क्षेत्रीय छनोटबाट आउने एसियाका बाँकी टोलीबीचको प्रतिस्पर्धाबाट तीन टोलीले टी-२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन्। 

टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्। 

आइसिसीको बोर्ड बैठकले सन् २०३० को टी-२० महिला विश्वकपमा १६ टोलीबीच प्रतिस्पर्धा गराउने निर्णय गरेको छ। सन् २००९ को पहिलो टी-२० विश्वकपमा ८ टोली थिए, अब २०३० मा पहिलो संस्करणभन्दा दोब्बर टोली हुनेछन्। त्यसअघि सन् २०२६ मा इंग्ल्यान्डमा हुने प्रतियोगितामा १२ टोली हुनेछन्। 

सोमबार श्रीलंकाको कोलम्बोमा सकिएको आइसिसीको बोर्ड बैठक र वार्षिक साधरणसभामा आइसिसीका १०८ सदस्य राष्ट्रका प्रतिनिधिको उपस्थिति थियो। नेपाल क्रिकेट संघको तर्फबाट अध्यक्ष चतुरबहादुर चन्दसहित सचिव पारस खड्का र जिएम उत्सव ढुंगाना सहभागी थिए। 

बोर्डले अमेरिका र चिली क्रिकेट संघलाई ‘निगरानी’ मा राखेको छ। दुवै क्रिकेट संघलाई पारदर्शिताको अभाव भएको भन्दै आइसिसी सदस्यता मापदण्ड पूरा गर्न १२ महिनाको समय दिइएको छ।

तपाईको प्रतिक्रिया