डब्ल्यूएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य सङ्कटको घोषणा
काठमाडौं । अफ्रिकाका केही भागमा एमपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
एमपक्स एक संक्रामक रोग हो । यसलाई यसअघि मंकीपक्स भनेर चिनिन्थ्यो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा कम्तीमा ४५० जनाको मृत्यु भएको थियो ।
हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
डब्ल्युएचओले एमपक्सको संक्रमण १३ वटा अफ्रिकी मुलुकमा देखिएको बताएको छ। बुरून्डी, केन्या, रूवान्डा, युगान्डा लगायत देशमा यसका नयाँ भेरियन्टको संक्रमण देखिन थालेको हो।
डब्ल्युएचओले दुई वर्षमा यो दोस्रो पटक आपतकालको घोषणा गरेको हो।
अफ्रिकामा यस वर्षमात्रै १४ हजारभन्दा बढीमा संक्रमण देखिएको र ५२४ जनाले ज्यान गुमाइसकेको एपीले जनाएको छ। यसले सबभन्दा बढी कंगोमा प्रभावित पारेको जनाइएको छ। ९६ प्रतिशत केस र मृत्यु कंगोमा भएको हो।
एमपक्स सरूवा रोग भएकोले यो यौन सम्पर्क, कसैले छोएमा, सास र कुराकानी गर्दा समेत सर्न सक्ने समाचारमा उल्लेख छ। बीबीसीबाट
तपाईको प्रतिक्रिया