बुधबार २ माघ २०८१
राजनीति

विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको छु : कतारी विदेश राज्यमन्त्री डा. खुलाइफी

मंगलबार माघ १, २०८१/ Tuesday 01-14-25

काठमाण्डौ ।अतिवादी हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका लागि सरकारले कूटनीतिक क्रियाशीलतालाई निरन्तर जारी राखेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमाससँग सम्पर्कमा रहेका र युद्धविरामका लागि मध्यस्थता गरिरहेका देशहरुलाई जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहनुभएको छ ।

यसै क्रममा उहाँले आज बिहान कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग फोनवार्ता गर्नुभएको छ । मन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुनुहुन्छ ।

परराष्ट्रमन्त्रीले कतारका मन्त्री डा. खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले जोशीको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्नुभएको छ ।

कतारी विदेशराज्यमन्त्रीले युद्धविराम र विपिन जोशीको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरुले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरुले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा जोशी अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको जानकारी मन्त्री देउवालाई दिनुभएको छ। 

तपाईको प्रतिक्रिया