बिहीबार २७ भदौ २०८१
शिक्षा

विदेशी विश्वविद्यालयको सम्बन्धनमा चलेका तीन कलेजमा शिक्षा मन्त्रालयद्वारा विद्यार्थी भर्ना रोक

बिहीबार श्रावण ३१, २०८१/ Thursday 08-15-24

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय मूल्यांकन तथा अनुगमन समितिको बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित ३ कलेजमा विद्यार्थी भर्नामा रोक लगाएको हो ।

बैठकले काठमाडौँको ग्लोबल इन्टरनेसनल, ललितपुरको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज र जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङमा विद्यार्थी भर्नामा रोक लगाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको, ग्लोबलले सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको र नेपाल एजुकेसन स्थानान्तरण प्रक्रियामा रहेको भन्दै विद्यार्थी भर्ना गर्न रोक लगाएको हो । यी कलेजमा सिभिल इन्जिनियरिङ, बीबीए, एमबीए, आईटीलगायत विषय पठनपाठन हुँदै आएको थियो ।

शिक्षा मन्त्रालयले विद्यार्थी भर्ना हुन मिल्ने विदेशी सम्बन्धनका ५६ कलेजको सूचीसमेत सार्वजनिक गरेको छ  । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण भएका, लेखापरीक्षण र कर चुक्ता गरेका, नियमअनुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कलेजको सूची सार्वजनिक गरिएको हो ।

बैठकले त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा.डा.विनिल अर्यालयको संयोजकत्वमा ५ सदस्यीय एक विज्ञ उपसमिति गठन गरेको छ ।

समितिले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा नेपालमा सञ्चालित शिक्षण संस्थाको सम्बन्धमा यस अघि भएका अध्ययन प्रतिवेदन, निर्णयको अध्ययन र विद्यमान समस्याको पहिचान गरी नीतिगत कार्य व्यवस्था गर्न र विदेशी शिक्षण संसथाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ लाई समयानुकुल संशोधनका लािग राय सुझाव समेतको कार्यान्वयन खाका सहितको प्रतिवेदन एक महिनाभित्र पेश गर्नुपर्ने जिम्मेवारी दिइएको छ ।

समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.सुमन खरेल, नेपाल ल क्याम्पसका उपप्राध्यापक विष्णुमाया भुसाल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवम उच्च शिक्षा महाशाखा प्रमुख डा.कमलप्रसाद पोख्रेल र सदस्य सचिव मन्त्रालयकै उच्च शिक्षा शाखा प्रमुख उपसचिव परशुराम तिवारी रहेका छन् ।

तपाईको प्रतिक्रिया