अमेरिकामा बेपत्ता नर्सका श्रीमानले चक्कु खरिद गरेको प्रमाण फेलाः हत्या गरेको आशंकामा श्रीमान पक्राउ
काठमाडौं । करिब एक महिनादेखि अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेका श्रीमान् नरेश भाट (भट्ट)विरुद्ध त्यहाँको प्रहरीले शव लुकाएको अभियोग लगाएको छ।
बिहीबार पक्राउ गरेर शुक्रबार प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टमा पेश गरिएका भट्टविरुद्ध शव लुकाइएको अभियोग लगाइएको हो। उनको अर्को सुनुवाइ अगष्ट २४ तारिखमा हुँदैछ।
चक्कु र सरसफाइका सामग्री खरिद
अदालतमा प्रहरीले पेश गरेको कागजातमा नरेशमाथि हत्याको अभियोग लगाइएको हो। ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी भट्टले श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको अदालतमा पेश गरेको कागजातमा उल्लेख छ।
प्रहरीले घरभित्रै हत्या गरेको उनीसँग मिल्दोजुल्दो प्रमाण बरामद भएपछि यस्तो अभियोग लगाएको हो। प्रहरीले अदालतमा शव घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण पेश गरेको छ।
ममता बेपत्ता हुनु अगाडि नरेशले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले नरेशले खरिद गरेका तीन चक्कुमध्ये दुई वटा अझै फेला पारेको छैन। प्रहरीले बेडरुम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाण फेला परेकोसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।
प्रहरीको जिम्मामा १० महिने छोरी
अमेरिका बस्दै आएकी काफ्ले साउन १६ गतेदेखि गायब भएपछि उनका पतिलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा थिए।
ममता बेपत्ता भएको प्रकरणमा उनका पति नरेशलाई मुख्य अभियुक्त मान्दै पक्राउ गरेको प्रहरीले उनीहरूकी १० महिने छोरीलाई पनि आफैंसँग लगेको छ।
२३ दिन बितिसक्दा पनि ममताको अवस्था पत्ता लाग्न सकेको छैन। नर्सका रुपमा अमेरिकामा कार्यरत ममताले घरबाट निस्किनुअघि १० महिने छोरीलाई छाडेकी थिइन्।
भर्जिनियास्थित मनाससबाट बेपत्ता काफ्लेको खोजीमा अमेरिकी प्रहरीले सबै प्रयास गरेको थियो। सामाजिक सञ्जालको प्रयोगदेखि भौतिक रुपमा पनि खोजी अभियान चलाइरहेको प्रहरीको प्रयास असफल भएपछि अनुसन्धान श्रीमानतर्फ सोझिएको हो।
उनीबारेमा मनासस पार्क पुलिस डिपार्टमेन्टले पटक पटक सामाजिक सञ्जालमा फोटोसहित सूचना दिएको थियो। श्रीमान पक्राउ परे पनि उनी कहाँ कस्तो अवस्थामा छिन् भन्ने अझैसम्म अज्ञात छ।
नरेसलाई हतकडी
लामो अनुसन्धानपछि प्रहरीले ममताका पति नरेशलाई नै मुख्य अभियुक्त मान्दै घरमै हतकडी लगाएर लगेको हो। प्रहरीले उनको घरमा बुधबार खानतालसी गरेको थियो। भट्टलाई पक्राउ गर्ने क्रममा फरेन्सिक जाँचका लागि प्रहरीले घरबाट कार्पेटसहितका सामानसमेत लगेको छ।
जुलाई ३१ मा ममता हराएपछि अगस्ट २ मा पुगेका प्रहरी अधिकारीले ममताका पति नरेश भट्टसँग सोधपुछ गरेको थियो। तर नरेशले केही कुरा खुलाएका थिएनन्। चौतर्फी दबाबबिच अनुसन्धानका क्रममा ममता बेपत्ताको पछाडि नरेशकै हात रहेको निष्कर्षसहित प्रहरीले उनलाई पक्राउ गरेको हो।
नरेशले ममता हराएको रिपोर्ट गर्न नचाहेको समाचार अमेरिकास्थित हिमालय खबरले छापेको छ। ममता हराएको तीन दिनपछि मात्रै नरेश प्रहरीकहाँ पुगेको खुलेको छ। घटनाको तीन दिनपछि भट्टले हराएकी पत्नीबारे सूचना दिनुलाई अमेरिकास्थित कतिपय प्रवासी नेपालीले शंकास्पद भनेका थिए। भट्टले तीन दिनपछि दिएको सूचनाका आधारमा भर्जिनिया प्रहरीले ममतालाई बेपत्ता व्यक्तिको सूचीमा राखेर खोजी जारी राखेको हो।
प्रहरीले गरेको अनुसन्धानका क्रममा ममताले पछिल्लो समय परिवारका सदस्य, साथीहरू र रोजगारदातालाई पनि एकदमै कम सम्पर्क गर्ने गरेको खुलेको छ।
प्रहरीले बेपत्ता व्यक्तिबारेको विवरण सार्वजनिक गर्ने क्रममा ममता जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको थियो। जुलाई २८ मा उनले साथीसँग कुरा गरेको खुलेको छ। त्यसपछि उनलाई जुलाई ३१ मा उनका श्रीमान नरेशले अन्तिमपटक देखेको प्रहरीले जनाएको छ।
पतिसँगको खटपट
भर्जिनियाकै अस्पतालमा कार्यरत ममता एक १० महिने नाबालककी आमा पनि हुन्। स्थानीय प्रहरी र गुप्तचर निकायले खोजी गरे पनि ममताको सुइँको पनि पाउन सकेका छैनन्। तर प्रहरी अनुसन्धान र पारिवारिक स्रोतबाट ममता र नरेशबीच छोरी जन्मिएको दुई महिनादेखि नै विवाद र खटपट रहेको खुलेको छ।
१० महिनाअघि आमा बनेकी ममता बेपत्ता प्रकरण रहस्यमय बन्दै गएपछि उनका पतिमाथि नै कडा अनुसन्धानको माग नेपाली समुदायले उठाएका थिए। ममतालाई कुनै न कुनै पारिवारिक दबाब र तनाव रहेको अनुमान नेपाली समुदायको छ।
त्यही कुराको पुष्टि गर्दै ‘सेपेरेटेड सिंगम डिभोस्ड मम फ्रम भर्जिनिया’ फेसबुक पेजमा ममताले श्रीमानसँग खटपट भएको संकेत दिएको विवरण बाहिरिएको छ।
‘हाई म ६ महिने बच्चाकी आमा हुँ। म श्रीमानसँग अलग हुन चाहिरहेकी छु। म साताको दुई दिन काम गर्छु। तर, मेरा श्रीमानले बच्चा हेर्न साथ दिएका छैनन्। म अलग भएपछि उनले बच्चालाई ‘बाल कस्टडी’मा राख्छु भनिरहेका छन्। के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारे सहयोग चाहियो। सामाजिक कार्यकर्ताहरूले मलाई सहयोग र सल्लाह दिनु होला।’
माइतीसँग गुनासो
ममताको माइतीघर नेपालस्थित काभ्रेपलाञ्चोकको पनौती हो। ममताले फेसबुकबाट परिचय भएपछि डडेलधुराका नरेश भट्टसँग बिहे गरेकी थिइन्। त्यसपछि उनी अमेरिका आएकी थिइन्।
ममताले आफ्नी आमाँग पति र उनको परिवारका सदस्यले सताउने गरेको बताउने गरेकी थिइन्। उनी पतिले दिएको यातना वर्णन गर्दै माइतीमा फोन गरेर रुने गरेको पनि खुलेको छ।
तपाईको प्रतिक्रिया