शनिबार ६ पौष २०८१
खेलकुद

ब्राण्ड लजिकले ५ करोड ९२ लाखमा किन्यो एनपीएलको कमर्सियल अधिकार

सोमबार असोज १४, २०८१/ Monday 09-30-24

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमयर लिग (एनपिएल) को कमर्सियल अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको छ।

क्यानका अनुसार बोलकबोल प्रक्रियाबाट ब्रान्ड डिजिटलले कमर्सियल अधिकार पाएको हो। त्यसका लागि उसले ५ करोड ९२ लाख रूपैयाँ बोली लगाएको थियो।

अब उसले एनपिएल २०२४ को व्यापारिक पक्षको व्यवस्थापन र मार्केटिङ गर्न पाउनेछ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अब मैदानमा हुने विज्ञापनको सबै अधिकार ब्रान्ड डिजिटलको हुन्छ।

तर एनपिएलको टिकेटिङमा भने उसलाई अधिकार छैन। टिकट क्यान आफैँले बेच्ने लामाले बताए।

अब कम्पनीले खेलको प्रचार प्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ। सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।

एनपीएल आगामी नोभेम्बर-डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।

क्यानले एनपीएलमा खेलाडीहरुको अक्सन दशैंअघि गर्ने तयारी गरेको छ । खेलाडी दर्ता प्रक्रिया खुलाइसकेको छ । खेलाडीको अक्सनमा न्यूनतम मूल्य २ देखि १० लाख रुपैयाँसम्म तोकिएको छ । गोला प्रथामार्फत ८ फ्रेन्चाइज टोलीले आफ्नो मार्की खेलाडी अनुबन्ध गरिसकेका छन् ।

काठमाडौंको करण केसी, पोखरा कुशल भुर्तेल, चितवनको कुशल मल्ल, लुम्बिनीको रोहित पौडेल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ शेख, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया