आइतबार २७ असोज २०८१
समाज

दसैँको मुखमा कष्टकर यात्रा, विज्ञ भन्छन्: घर जान हतार नगरौँ

मंगलबार असोज १५, २०८१/ Tuesday 10-01-24

काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । 

यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भए लगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । 

सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू काठमाडौँको नैकापसम्म लाइन थियो । आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन् । 

यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् । नेपाल  प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् ।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ ।

प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ । त्यसैले समस्या भएको उनले बताए । अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए । 

उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बिचबिचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ । अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुने गरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए । यो चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।

तपाईको प्रतिक्रिया