काठमाडौं। आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।
शनिबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो। ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
अस्ट्रेलियाका लागि ओपनर बेथ मुन्नीले सर्वाधिक ४३ रन बनाइन्। त्यस अघि शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनायो।
श्रीलङ्काकी निलशिखा शर्माले सर्वाधिक २९ रन बनाइन्। अस्ट्रेलियाकी मेगना स्कुटले ३ विकेट लिइन्।
जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ। लगातार दुई हारसहित श्रीलङ्का अङ्कविहीन रहेको छ। श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
यस्तै हिजो नै भएको दोस्रो खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ। इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो। एक सय १९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो। बङ्गलादेशकी सोभाना मस्टोरीले ४४ रन बनाइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। इङ्ग्ल्यान्डकी डन्नी व्याटहोजले सर्वाधिक ४० रन बनाइन्।
जीतबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ।
प्रतियोगिता अन्तरगत आज भारत र पाकिस्तान तथा स्कटल्याण्ड र वेष्टइन्डिज भिड्नेछन्।
तपाईको प्रतिक्रिया