बिहीबार २९ कार्तिक २०८१
विचार

संघीय राजधानी अस्तव्यस्त, रोगको शिकार बन्दै सर्वसाधारण !

शनिबार कार्तिक १०, २०८१/ Saturday 10-26-24

पछिल्ल्लो समय डेंगु संक्रमण निकै बढ्दै गएको छ । अहिले जोकोही पनि आफुलाई डेंगु संक्रमण भएको वा त्यसका लक्षण देखा परेको बताउँछन् । अन्य जिल्लाभन्दा काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गइरहेका छन् । तर, किन ? मुलुककै संघीय राजधानी हो, काठमाडौं । सिंहदरबारदेखि प्रधानमन्त्री, राष्ट्रपति निवास, संसद भवन यही छ ।
भिआईपीको बसोबास सबै यही भएपछि मानिसहरुको पनि आकर्षणको केन्द्र बन्यो, राजधानी । त्यसैले, गाउँमा खेत बाँझो छोडेर उनीहरु काठमाडौं आए व्यापार व्यवसाय गर्न । ७७ वटै जिल्लाका नागरिक यहाँ बसोबास गर्छन् । कोही राजधानी बसेर अध्ययन गरिरहेका छन् त कोही व्यापार व्यवसाय सञ्चालन वा रोजगारी ।
अन्य जिल्लाभन्दा राजधानीमा मानिसको चहलपहल निकै बढी हुँदा हरेक व्यापार व्यवसाय यँही सञ्चालन भएको छ । जसका कारण काठमाडौं शहर अव्यवस्थित तथा अस्तव्यस्त बन्दै गएको छ । अहिले उपत्यकामा डेंगु संक्रमण बढ्नुको पनि यँही कारण हो । यहाँ घरैपिच्छे वर्क शप, कबाडी गोदाम सञ्चालन भएका छन् ।
फेरि ती वर्क शप, कबाडी गोदाम निकै फोहोर देखिन्छ । सरसफाई गरिदैँन । वर्क शपमा सवारीसाधनका टायर यत्तिकै छोडिएका हुन्छन् । अनि ती टायरमा कति लामिखुट्टेले बास बसाउँछन् होला ? यता, तरकारी बजारहरुमा व्यापारीहरु कुहिएका तरकारी जथाभावी फल्छन् । जसका कारण पनि डेंगु संक्रमणका लामिखुट्टेको जन्म हुने गरेको छ ।
उपत्यकामा डेंगु संक्रमण मात्र नभई अन्य विभिन्न दीर्घकालिन रोग पनि फैलिदैँ गएको छ । यहाँ बस्ने अधिकांश रोगी छन् । कोहीमा क्यान्सर लागेको छ त कोहीमा श्वासप्रश्वास समस्या । कतिपय भने मिर्गौया, कलेजो वा मुटुसम्बन्धी रोगबाट पीडित भेटिन्छन् । यस्तै, मोटोपन, थाइराइटलगायत समस्याबाट पनि धेरै पीीडत भएका छन् ।
अर्कोकुरा व्यापारीहरुले आफ्नो स्वार्थका लागि जस्तो पनि खाद्य तथा पेय पदार्थ बेचे । चाँहे त्यो गुणस्तरहीन वा केमिकल मिसावट गरिएको नै किन नहोस् । घरेलु मदिरा समेत मल, पुराना जुत्ता, कपडा, भैंसीको हड्डी वा सख्खरबाट बनाएर बेचियो । यो मदिरा सेवन गर्दा कतिपयको स्वास्थ्यमा गम्भीर असर परी ज्यानै समेत गएको पाइन्छ ।
पछिल्लो समय उपत्यकाभित्र सञ्चालित भाटभटेनी, सुपर मार्केट, बिग मार्ट बाहिर पनि फोहोरका थुप्राहरु देखिन्छन् । जथाभावी यसरी थुप्रारिएका फोहोरका कारण डेंगु संक्रमणसँगै विभिन्न रोग निम्तिने जोखिम बढ्दो छ । होटल, रेस्टुरेन्ट, खाजाघर वा मिठाइ पसलमा पनि किचन निकै फोहोर हुन्छ । त्यहाँ जाँदा वर्षौदेखि सरसफाई नगरिएकोजस्तो लाग्छ । यहाँबाट निस्किने फोहोरले पनि डेंगु संक्रमण बढाएको हो । सरकारी अस्पताल होस् या निजी अस्पतालमा पनि व्यवस्थित रुपमा फोहोर राखिएको हुदैँन । अस्पतालमै जथाभावी रुपमा फोहोर राखिँदा बिरामीलाई कस्तो प्रभाव पर्ला ।
अहिले डेंगु संक्रमण नभएको कुनै व्यक्तिले आफ्नो बिरामी लिएर अस्पताल गएमा उसमा चाँहि डेंगु देखिने खतरा बढेको छ । अनि अस्पतालमै यस्तो भएपछि कसरी डेंगु संक्रमण घट्छ ? उता, माछामासु पसल वा अन्य व्यवसायीबाट निस्किएका फोहोर पनि बाटोमा जथाभावी छोडिदिएका हुन्छन् ।
फोहोर बोरामा हाली बाटोमा ल्याएर राखिन्छ । तर, बोरा बाधिदैँन । अनि त्यो बोरा कुकुरले खोतालेर फोहोर बाटो नै भरि छरिदिन्छ । अर्को रोचक कुरा त के छ भने नि हामीले पिउने पानी र ढलको पाइप जमिनमुनि सँगै राखिन्छ । हामी माथि सडकमा हिँड्छौं । सवारीसाधन चलाउँछौं । तर, तल पिउने पानी र ढलको पाइप एकसाथ राखिएको हुन्छ ।
यसले गर्दा हामीले पिउने पानीमा ढल समेत मिसिएको हुन्छ । अनि त्यो ढल खाँदा मानिसको स्वास्थ्यमा कस्तो असर पर्ला ? बाटोमा हिँड्दा ढलका पाइप फुटेर सडक नै दुर्गन्धित भएको पनि देखिन्छ । त्यस्तै, पानीका पाइप फुटेर सडक हिलाम्मे भएको पनि देखिने गरिएको छ । उपत्यकाभित्र बग्ने खोला छेउ हिँड्नु परेमा त नाक छोपेर हिँड्नुपर्छ ।
किनकि खोलामा ढल मिसाइएको छ । यसैले, खोला आसपास हिँड्न समेत सकिदैँन । अहिले उपत्यकाभित्र बग्ने खोलाका पानी निकै फोहोर वा कालो देखिन्छ । त्यो पानी पिउँदा जीवजन्तु तथा पशुपन्छीमा समेत असर पर्ने पर्छ । त्यसमाथि अधिकांशले खोला नै मासेर घर बनाएका छन् । उपत्यकामा घना बस्तीमै पेट्रोल पम्प, ग्याँस डिपो सञ्चालन भएका छन् ।
घरकै छेउमा यस्ता व्यवसाय सञ्चालन हुँदा कुनै बेला आगलागी भएमा ठुलो जनधनको क्षति हुने जोखिम बढ्दो छ । यता, पार्टी प्यालेन्स, अटो शोरुम, ड्राइभिङ सेन्टरहरु पनि बाटोकै छेउछाउ वा घना बस्तीमा रहेको छ । निजी विद्यालय, कलेज, अस्पतालहरु पनि बाटोकै छेउछाउमा छन् । बैंक तथा वित्तिय संस्थाहरु पनि सडक आसपास नै सञ्चालन भएका छन् ।
काठमाडौंलाई संघीय राजधानी भनिन्छ । तर, पछिल्ला केही वर्षयता काठमाडौं मुलुकको राजधानी नभई अस्तव्यस्त शहर बनेको छ । यहाँ खुल्ला ठाउँ नै भेटिदैँन । हावापानी पनि राम्रो छैन । सवारीसाधनको धुँवासँगै विभिन्न व्यापार व्यवसायबाट निस्किएका फोहोर, प्रदूषणका कारण राजधानीको हावापानी दूर्गन्धित बनेको छ ।
उपत्यकाभित्र झण्डै साढे छ सय ढुंगे धारा थिए । मठमन्दिर, पार्टी पौवा, कुँवा, ताल, पोखरी पनि उत्तिकै थिए । तर, मानिसहरुले आफ्नो स्वार्थका निम्ति यो सबै मासे । अधिकांशले त यस्ता जग्गा समेत आफ्नो नाममा ल्याए । अहिले उपत्यकामा ढुंगे धारा नै भेटिदैँन । यसले मानिसलाई तिर्खा लाग्दा पैसा नभएमा उनीहरुले पानी समेत पिउन पाउँदैनन् ।
ढुंगे धारा हुँदा त जोकोहीले पनि निःशुल्क रुपमा पानी पिउन पाउँथे । तर, अब त पैसा भएकाले मात्र उपत्यकामा पानी पिउन पाउँछन् । विकासको नाममा उपत्यकामा विनाश भएको छ । राजधानीको लाम्मिपाट उत्तर ढोकाबाट जयनेपाल हल, कमलादी, बागबजार, खसीबजार हुदैँ थापाथली निस्किने खोलामाथि घर बनाइयो ।
खोला मासेर घर बनाइएको छ । ०४३ सालअघि अनामनगर, कालिस्थान, घट्टेकुलो, बिजुलीबजार, हनुमानस्थान, सिडियो कार्यालयपछाडिको जग्गा सरकारी जग्गा थियो । तर, अहिले सबै व्यक्तिको नाममा छ । ती जग्गामा अहिले घरैघर बनेको छ ।
ललितपुरको टिकाथली, जडीबुटी नरेफाँट, लोकन्थली, मूलपानी, पेप्सीकोला, काँडाघारी, जोरपाटी, नयाँबस्ती, बौद्ध, गौरीघाट, एयरपोर्ट, सिनामंगल, तीनकुने, शान्तिनगर, गैरीगाउँ, कोटेश्वर र थानकोट निकै जोखिमपूर्ण ठाउँ छ । यी ठाउँ भएर दिनरात प्लेन उड्छ त थानकोटमा आयल निगमको पेट्रोल, डिजेल वा इन्धनको डिपो राखिएको छ ।
यसले गर्दा बस्तीमा विमान खसेमा वा डिपोमा आगलागी भएमा समग्र बस्ती नै सखाप हुने जोखिम छ । हुन त यहाँ सहरी विकास मन्त्रालय छ । सहरी विभाग छ । उपत्यका विकास प्राधिकरण छ । तैपनि व्यवस्थित सहर बनाउन सरकार वा सम्बन्धित निकायहरुले कुनै प्रयास गरेका छैनन् । निकाय मात्र भएर के गर्नु जब ती निकायले कुनै काम नै गर्दैनन् !
सरकारले न सहरलाई व्यवस्थित बनाउन सक्यो न जनतालाई रोग लाग्नबाट बचाउन सक्यो । सरकार भनेको त नागरिकको रक्षक हो । विडम्बना, हामी कहाँ सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने मात्र चिन्ता छ । जसको परिमाण सर्वसाधारण जनताले भोगिरहनु परेको छ ।
अहिले उपत्यकाभित्र बस्ने मानिसहरु लुगा सुकिला लगाएका हिँड्छन् । अनुहारमा मेकअप गर्छन् । तर, ज्यानमा भने रोग पालिरहेका हुन्छन् । गाउँमा बस्ने नागरिक च्यातिएको कपडा लगाउँछन् । खुट्टा चप्पल लगाउँदैनन् । यद्यपि, उनीहरुलाई कुनै रोग हुदैँन । किनकि उनीहरु दिनरात पसिना बगाएर आफ्नो खेतबारीमा काम गर्छन् र त्यँही अन्न खान्छन् ।
शहरमा बस्नेहरु विदेशबाट आयात गरिएका खाद्यान्न खान्छन् । घर भाडामा लगाएर बसिबसि खान्छन् । अनि रोग नलागे के लाग्छ ? भनिन्थ्यो कि स्याललाई दशा लागेमा शहर पस्छ । त्यसरी नै अहिले मानिसहरु रोगी बन्न उपत्यका बसे बराबर भएको छ ।
 

तपाईको प्रतिक्रिया