एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ ।
प्रायोजनसम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिइएको एनसेलले जनाएको छ ।
एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको एनसेलले जनाएको छ ।
यो साझेदारी नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि भएको उनले बताए ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ् मार्फत एनपीएलका खेल आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकका लागि विभिन्न योजना ल्याउने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया