सोमबार १७ मङ्सिर २०८१
बिजनेस

नेपालमा विदेशी पर्यटक : १० महिनामा ९ लाख ४० हजार

मंगलबार कार्तिक २०, २०८१/ Tuesday 11-05-24

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । 'समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातित पर्यटक आउन सकेनन्, किनकी महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ,' उनले भने । रासस

तपाईको प्रतिक्रिया