सोमबार १७ मङ्सिर २०८१
शिक्षा

कृषि विश्वविद्यालयमा भेटेरिनरी संकायमा अध्ययनका लागि ५० कोटा थप

बुधबार कार्तिक २१, २०८१/ Wednesday 11-06-24

चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा विद्यार्थीहरुलाई अध्ययनका लागि ५० कोटा थप गरिएको छ ।

यसअघि, विश्वविद्यालयले सो संकायमा ५० जना विद्यार्थी मात्रै भर्ना गर्दै आएकोमा शैक्षिक सत्र २०८१/०८२ देखि भने १०० जना विद्यार्थी भर्ना गर्न पाउने भएको हो । संकायका डीन प्रा.डा. होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता लिएर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरिएको जानकारी दिए ।

संकायले कात्तिक १३ गते मंसिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीले विभिन्न कोटामा आवेदन दिन सक्ने डीन बस्नेतले बताए । विश्वविद्यालयले साविक ५० कोटामा मेरिटका आधारमा २०, प्रादेशिक ७, छात्रा २, दलित १, आदिवासी जनजाति १, मधेशी १, द्वन्द्वपीडित र शहीद परिवार १ अपाङ्ग १, स्टार्फकोटा पूर्ण छात्रवृत्तिमा १, स्टाफ कोठा सहुलियत शुल्कमा १, स्थानीय कोटा २ सहित शुल्क लिएर १४ जना १४ जना विद्यार्थी भर्ना लिदै आएको थियो ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले ५ वर्षको ६ लाख बुझाउनुपर्छ । अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले ५ वर्षे कोर्षको १२ लाख रकम बुझाउनुपर्ने डीन बस्नेतले जानकारी दिए । त्यसलाई किस्ताबन्दीमा तिर्नुपर्ने व्यवस्था संकायले गरेको छ ।

नेपाल भेटेरेनरी काउन्सिलका रजिष्ट्रार डा.रामकुमार मण्डलले त्रिवि, एएफएयू तथा पूर्वाञ्चल विश्वविद्यालयका नीजि कलेजहरुको अनुगमन पछि न्यूनत्तम मापदण्ड पूरा गरेका कलेजहरुलाई भर्ना आब्हानका लागि अनुमति प्रदान गरिएको बताए ।

‘त्रिवि र पूर्वाञ्चलका कलेजहरुले थप कोटा पढाउने न्यूनतम मापदण्ड पनि पुरा गरेको देखिएन, एएफयूले मापदण्ड पुरा गरेको देखेर ५० कोटा थप गरियो, यो अस्थायी हो,’ रजिष्ट्रार मण्डलले भने, ‘एक बर्षभित्र केही अपुग कुराहरु पूरा गर्ने सर्तमा थप ५० जना पढाउन सक्ने अनुमति दिएका हौं ।’ उनले एएफयूको जनशक्ति र पूर्वाधार पहिलाको भन्दा धेरै राम्रो भएकोले अनुमति दिएको बताए ।

काउन्सिलले मान्यता दिएका साविक ५० कोटाको विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने डीन बस्नेतले जानकारी दिए । सोही संकायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ ।

 

तपाईको प्रतिक्रिया