बिहीबार ६ मङ्सिर २०८१
अर्थ

बढ्यो नेप्से, घट्यो कारोबार रकम

बुधबार मङ्सिर ५, २०८१/ Wednesday 11-20-24

काठमाडौं । सेयर बजारमा एकल अंकले सुधार आएको छ।धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ ।

नेप्से बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम भएको छ।  यसदिन ३२३ स्क्रिप्सको १ रोड ५४ लाख  ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँमा कारोबार भयो। मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।

नेप्से एकल अंकले बढेपनि ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,नेपाल हाइड्रोपावर डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्ट बैंक,महिला लघुवित्त वित्तीय संस्था,कर्णाली डेभलपमेन्ट बैंक र जानकाी फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो।

आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। आठवटा समूहको उपसूचक बढ्दा ५ वटाको उपसूचक भने नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंकको उपसूचक सर्वाधिक ३.३८  प्रतिशतले बढ्यो।

कारोबारमा आएकामध्ये १४३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो।

तपाईको प्रतिक्रिया