सोमबार १७ मङ्सिर २०८१
मनोरन्जन

फिल्म साउथ एशियाको चौधौँ संस्करण आजदेखि, ४७ वटा लघु चलचित्र देखाइने

बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24

काठमाडौँ ।  फिल्म साउथ एशिया महोत्सवको चौधौँ संस्करण आजदेखि ललितपुरमा शुरू हुँदैछ । पाटनको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन गर्ने तयारी छ ।

महोत्सवका सहायक निर्देशक पवस मानन्धरले यस वर्ष ‘वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड’ थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।

महोत्सव बिहान ९ बजेदेखि शुरू हुनेछ । निर्देशनसम्बन्धी कार्यशाला पनि हुने मानन्धरले जानकारी दिनुभयो । कार्यशालामा भारतका चर्चित निर्देशक कवीर खान प्रमुख अतिथि हुनुहुनेछ । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ।

तपाईको प्रतिक्रिया