सोमबार १९ जेठ २०८२
राजनीति

आधारबिनै मन्त्रीको राजीनामा माग्नु अनुचितः प्रधानमन्त्री

शनिबार जेठ १७, २०८२/ Saturday 05-31-25

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्रमाण वा छानबिनबिनै मन्त्रीको राजीनामा माग्नु अनुचित भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘हाफ म्याराथन’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री रमेश लेखकमाथि हालसम्म कुनै पनि निकायले छानबिन सुरु नगरेको अवस्थामा प्रतिपक्षी दलको राजीनामा माग अव्यावहारिक भएको बताए।

“बोल्ने र माग राख्ने प्रतिपक्षको अधिकारलाई म सम्मान गर्छु, तर विरोध वा माग राख्दा त्यसको केही त आधार चाहिन्छ,” प्रधानमन्त्री ओलीले भने। “सरकारप्रति असन्तुष्टि भएकै कारण विपक्षीले निराधार माग उठाएर संसद अवरुद्ध गरिरहेको छ।”

उनले पूर्वगृहमन्त्री रवि लामिछानेको प्रसंग फरक भएको दाबी गर्दै त्यतिबेला सीआईबीले छानबिन सुरु गरिसकेको अवस्था रहेको स्मरण गराए। “पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा छानबिन प्रक्रिया चलिरहेको थियो, अहिले त्यस्तो होइन,” उनले भने। “विरोध गर्न निहुँ नपाएर जबरजस्ती निहुँ खोजिएको हो। विरोध यसरी गरिएको छ, मानौं ३५ किलो सुन तस्करी नै भएको हो, तर अहिले त्यस्तो अवस्था छैन।”

ओलीले प्रतिपक्षीको माग असम्भव भएको संकेत गर्दै भने, “बच्चाले झोला वा खेलौना हात्ती मागेझैँ किनिदिन सकिएला, तर सक्कली हात्ती झोलामा हाल्न त सकिन्न। त्यसैगरी मन्त्रीको राजीनामा विपक्षीले मागेअनुसार दिइन सकिन्न।”

 

तपाईको प्रतिक्रिया