बिहीबार ११ पौष २०८१
बिजनेस

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकटमा ५ हजार छुट

बिहीबार मङ्सिर ६, २०८१/ Thursday 11-21-24

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ ।

यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा पाँच हजार छुट दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण वायुसेवा निगमको हवाई उडानहरू कटौती भएको र भाडादर उच्च भएको भन्दै भाडा घटाएको निगमले जनाएको छ ।

दिइएको छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने निगमले जनाएको छ । निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी भए जानकारी गराउन पनि अनुरोध गरेको छ ।

यस्तै ३३ जना बिरामीका आफन्तलाई ५० प्रतिशतमा टिकट उपलब्ध गराएको जनाएको छ । त्यसैगरी २१ जना सरकारी कर्मचारीलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराएको छ ।

निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिखसम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीकोे सिफारिसमा काठमाडौं–दिल्ली–काठमाडौं ३७ जनालाई सतप्रतिशत छुट दिएको छ । 

 

तपाईको प्रतिक्रिया