कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु
काठमाडौं । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको खुलेको छ ।उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।
अस्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ । जसअनुसार सुर्खेतीको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’ सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए ।
महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका-९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनलाई प्रहरी वृत्त कालीमाटीले अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ । मल्लले शव काँधमा बोकेर सडकमा फालेका हुन् ।
लागुऔषध सेवनकर्ता कवीन्द्र मल्ललाई प्रहरीले चप्पलबाट पहिचान गरेको थियो । क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरामा देखिएको उनको चप्पलको सङ्केतबाट उनलाई पक्राउ गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया