शुक्रबार १२ पौष २०८१
राजनीति

चीनले गर्‍यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा

शुक्रबार मङ्सिर १४, २०८१/ Friday 11-29-24

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको  औपचारिक घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीको चीन भ्रमण औपचारिक रूपमा घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ देखि २० (डिसेम्बर २–५) सम्म चीनको औपचारिक भ्रमणमा जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, उच्च सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीसहित ८७ जना रहने छन् ।

विहीबारको मन्त्रिपरिषद बैठकले ओलीको भ्रमण स्वीकृत गरेको थियो ।

१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका अवसरमा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया