बिहीबार ११ पौष २०८१
खेलकुद

एनपीएलका लागि तयार भयो त्रिवि क्रिकेट मैदान

शुक्रबार मङ्सिर १४, २०८१/ Friday 11-29-24

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन यो प्रतियोगिताका लागि त्रिवि क्रिकेट मैदानलाई चिटिक्क बनाइएको छ ।

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको पिचदेखि प्याराफिटसम्ममा परिवर्तन गरिएको छ । प्याराफिटमा अस्थायी सीटहरू थपेर दर्शक क्षमता बढाइएकोछ ।

क्रिकेटप्रेमीको ध्यान एनपीएलमा रहेकाले यसलाई भब्य बनाउने गरी क्यानले काम गरिरहेको छ । देशमा मात्रै नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन्।

क्यान आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण चर्चामा छ। क्रिकेट टीममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति ध्यान बढेको छ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भ हुनेछ। उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने छ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन्। हरेक टिममा न्यूनतम चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी रहने जनाइएको छ।

स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ। खेलको तीन दिन अघि नै उद्घाटन खेलको टिकट र पास दुवै सकिएको छ।

तपाईको प्रतिक्रिया