दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव
काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ।
दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपतिविरुद्ध सांसदहरुले यस्तो प्रस्ताव पेश गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव पेश गरेको द कोरिया टाइम्सले जनाएको छ।
मंगलबार स्थानीय समयअनुसार राति १०ः२३ बजे राष्ट्रपति योलले देशविराधी तत्वलाई तह गराउन भन्दै सैन्य शासन लागू गरिएको बताएका थिए । उनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको जिकिर गरेका थिए ।
राष्ट्रपतिले गरेको सम्बोधन लगत्तै दक्षिण कोरियाको सेनाले सम्पूर्ण राजनीतिक गतिविधि र संसदीय कारबाहीलाई निलम्बन गरिएको घोषणा गरेको थियो । यद्यपि, राष्ट्रपतिकै पार्टीका नेताहरुले पनि यो कदमको विरोध गरेका थिए भने विपक्षी दलका सांसद्हरुले संसद् भवनमा बाहिर उपस्थित भएर प्रदर्शन गरेका थिए ।
मंगलबार राति ‘मार्सल ल’ लगाउने युनको प्रयास असफल भएको थियो । त्यसपछि विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका हुन् ।
यसैबीच, दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हड्ताल सुरु गरेको छ ।
तपाईको प्रतिक्रिया