१०औँ राष्ट्रिय खेलकुद फागुन अन्तिममा : खेलकुदमन्त्री चौधरी
कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् ।
बुधबार पोखरा रंगशालामा खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मंसिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम बाँकी रहेकाले समयमै गर्न नसकिएको बताएका हुन् । उनले आगामी फागुन अन्तिम साता गर्ने गरी तयारी गरिएको र शुक्रबार मिति घोषणा हुने जानकारी दिए ।
'खेल पूर्वाधार निर्माणको कार्य नसकिएकाले मंसिरमा राष्ट्रिय खेलकुद हुन सकेन । अब फागुन अन्तिम साता गर्ने लक्ष्य राखेका छौँ,' मन्त्री चौधरीले भने । पोखरामा खेलकुदका पूर्वाधार निर्माणका लागि आगामी वर्षको बजेटमा व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाए । नेपालमा सन् २०२७ मा हुने यू– १९ महिला विश्वकप क्रिकेटका लागि पोखरामा समेत खेल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीले बताए ।
तपाईको प्रतिक्रिया