बिहीबार ११ पौष २०८१
समाज

श्रीलङ्कामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरे : संरक्षण गर्नुपर्ने विज्ञको सुझाव

बुधबार पौष १०, २०८१/ Wednesday 12-25-24

श्रीलङ्कामा विद्युतीय तारले करेन्ट लागेर यो वर्ष अहिलेसम्म ५० वटा जङ्गली हात्ती मरेका छन् । श्रीलङ्कामा मानव हात्तीबीचको द्वन्द्व बढ्दै गएको अवस्थामा विद्युतीय धरापमा परेर ५० वटा जङ्गली हात्ती मरेका सिलोन विद्युत् बोर्ड (सीईबी) ले जनाएको छ ।

देशको जैविक विविधतामा महत्त्वपूर्ण मानिएका जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने जोखिम अत्यधिक बढेको सीईबीले उल्लेख गरेको छ । सीईबीले यस्तो अवैध काम रोक्न प्रयास गरिरहेको छ । तर जङ्गली हात्तीहरूको संरक्षणका लागि नागरिकको सहयोग अपरिहार्य रहेको सीईबीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।

अघिल्लो वर्ष सन् २०२३ मा श्रीलङ्कामा ९० वटा जङ्गली हात्ती मरेको तथ्याङ्क छ । त्यहाँको वन्यजन्तु संरक्षण विभागले मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा बासिन्दाले सुरक्षाका लागि विद्युतीय तार बिछ्याउने गरेका कारण हात्ती मरेको बताएको छ ।

विभागले जङ्गली हात्ती लक्षित गरेर विद्युतीय तार र जाल राख्ने तथा गुणस्तरहीन विद्युतीय तार जडान गर्नेहरूलाई कारबाही समेत गर्ने निर्णय गरेको छ ।

वातावरण तथा वन्यजन्तु संरक्षणको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएकी परराष्ट्रमन्त्री विजिथा हेरथले बाली तथा वन्यजन्तुको क्षति हुन नदिनेमा जोड दिँदै मानव र जङ्गली हात्ती दुवैको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया